मुल्ला बरादर र अखुंदजादामध्ये कसले सम्हाल्छन् तालिबानी सत्ता ? के हो उनीहरुको हैसियत ?
काठमाडौं। तालिबानले अफगानिस्तानमा कब्जा गरेको छ । अफगानी राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेहले देश छाडेका छन् । यस्तोमा अब सत्ताको नेतृत्व कुन तालिबानी नेताले गर्छन् भन्ने प्रश्न उठेको छ । यो प्रश्नको जवाफमा २ नामको सबैभन्दा बढी चर्चा छ । ती नाम हुन् मुल्ला अब्दुल गनी बरादर (माथि तस्वीरमा दायाँतर्फका) र हिब्लुल्लाह अखुंदजादा । यी दुई नेता को हुन् र तालिबान संगठनभित्र उनीहरुको हैसियत के हो ?
मुल्ला अब्दुल गनी बरादर
मुल्ला अब्दुल गनी बरादर ती ४ जनामध्ये एक हुन् जसले १९९४ मा तालिबान संगठनको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा भएको आक्रमणमा तालिबानलाई सत्ताबाट हटाइएको थियो । त्यतिबेला उनी नाटो सैन्य बलविरुद्ध विद्रोहका प्रमुख बनेका थिए । पछि फेब्रुअरी २०१० मा अमेरिका र पाकिस्तानको एक संयुत्तः सैन्य अभियानमा उनलाई पाकिस्तानको कराची सहरबाट गिरफ्तार गरिएको थियो ।
साल २०१२ सम्म मुल्ला अब्दुल गनी बरादरको बारेमा धेरै जानकारी थिएन । त्यो समयमा अफगानिस्तान सरकार शान्ति वार्तालाई बढावा दिन जुन बन्दीहरुलाई रिहा गर्न माग गर्थ्यो उनीहरुको सूचीमा बरादरको नाम प्रमुख हुन्थ्यो । सेप्टेम्बर २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको थियो । तर यो स्पष्ट हुन सकेको थिएन कि उनी पाकिस्तानमै बसे वा बाहिर गए ।
मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासिला सिपाही र डेप्युटी थिए । जब उनलाई गिरफ्तार गरियो त्यतिबेला उनी तालिबानका दोस्रो सबेभन्दा ठूला नेता थिए । अफगानिस्तान प्रशासनका बरिष्ठ अधिकारीहरुलाई सधैं यो लाग्थ्यो कि बरादरको कदका नेताले तालिबानलाई शान्ति वार्ताको लागि मनाउन सक्छन् ।
२०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नको लागि तालिबानको कार्यालय खुल्दा उनलाई तालिबानको राजनीतिक दलको प्रमुख बनाइयो । मुल्ला बरादर सधैं अमेरिकासँग वार्ताको समर्थन गर्थे । १९९४ मा तालिबानको गठनपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका सम्हालेका थिए । मुल्ला उमर जीवित रहँदै उनी तालिबानको लागि आर्थिक स्रोत जुटाउने र दैनिक गतिविधिका प्रमुख थिए ।
उनी अफगानिस्तानका सबै युद्धमा तालिबानको तर्फबाट अहम भूमिका निभाइरहे र खासगरी हेरात र काबुल क्षेत्रमा सक्रिय थिए । जब तालिबानलाई सत्ताबाट हटाइएको थियो त्यतिबेला उनी तालिबानका डेप्युटी रक्षा मन्त्री थिए । उनको गिरफ्तारीको समयमा अफगानिस्तानका एक अधिकारीले बीबीसीसँग भनेका थिए ‘उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिबानको सारा पैसाको हिसाब उनी नै राख्छन् । उनी अफगान बलविरुद्ध सबैभन्दा खतरनाक आक्रमणको नेतृत्व गर्थे ।’
तालिबानका अन्य नेताहरुजस्तै मुल्ला बरादरमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा गर्न र हतियार खरिद गर्न प्रतिबन्ध थियो । २०१० मा गिरफ्तार हुनुभन्दा पहिले उनले निकै सीमित सार्वजनिक बयान दिएका थिए । २००९ मा उनले इमेलमार्फत न्युजवीक पत्रिकालाई जवाफ दिएका थिए । अफगानिस्तानमा अमेरिकाको बढ्दो सक्रियताप्रति इंगित गर्दै उनले तालिबान अमेरिकालाई भारीभन्दा भारी नोक्सान पुर्याउन चाहेको भनेका थिए ।
उनले जबसम्म हाम्रो जमिनबाट दुश्मनको अन्त्य हुँदैन तबसम्म हाम्रो जिहाद चलिरहन्छ भनेका थिए । इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्लाको वीटमाक गाउँमा १९६८ मा भएको थियो । उनको सम्बन्ध दुर्रानी कबिलासँग भएको मानिन्छ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ पनि दुर्रानी हुन् ।
हिब्तुल्लाह अखुंदजादा
हिब्तुल्ला अखुंदजादा अफगान तालिबानका प्रमुख नेता हुन् जो इस्लाम धर्मका विद्वान हुन् र कान्दाहारका हुन् । उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको अवस्थामा पुर्याएको मानिन्छ । तालिबानको गढ रहेको कान्दाहारसँग उनको सम्बन्धले उनलाई तालिबानको बीचमा पकड बनाउन सहयोग गर्यो । १९८० को दशकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानी विद्रोहका कमाण्डरको भूमिका निभाएका थिए । तर, उनको पहिचान सैन्य कमाण्डर भन्दा धार्मिक विद्वानको रुपमा बढी छ ।
उनी अफगान तालिबानको प्रमुख बन्नुभन्दा पहिले पनि तालिबानका शीर्ष नेताहरुमध्ये एक थिए र धर्मसँग सम्बन्धित तालिबानका आदेश उनले नै दिन्थे । उनले दोषी ठहरिएका हत्या र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या र चोरी गर्नेहरुको हात काट्ने आदेश दिएका थिए । हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मंसुरका डेप्युटी पनि थिए । मंसुरको मे २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो । मंसुरले आफ्नो इच्छापत्रमा हिब्तुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।
पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेटघाट जुन तालिबानी शीर्ष नेताहरुसँग भयो उनीहरुले नै उनलाई तालिबानको प्रमुख बनाएको मानिन्छ । समाचार एजेन्सी एएफपीका अनुसार इच्छापत्र पनि उनको नियुक्तिलाई वैधता दिनको लागि थियो । यद्यपि तालिबानले उनको चयनलाई सर्वसम्मतिबाट भएको निर्णय भनेको थियो । करिब ६० वर्षका मुल्ला हिब्तुल्लाहले आफ्नो धेरैजसो जीवन अफगानिस्तानमा नै बिताएका छन् । उनको क्वेटामा तालिबानका शुरासँग पनि नजिकको सम्बन्ध छ । हिब्तुल्लाहको नामको अर्थ ‘अल्लाहको तर्फबाट प्राप्त उपहार’ हो । उनी नूरजाइ कबीलासँग सम्बन्धित छन् ।







डिसी नेपाल







Facebook Comment