काबुल विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लियो
काठमाडौं। तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण गरेको एक दिनपछि त्यहाँको विमानस्थलमा ठूलो होहल्ला र भागाभाग भयो । त्यसलगत्तै अमेरिकी सेनाले पूरै विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीलाई सुरक्षित निकाल्नको लागि विमानस्थल परिसर र एयर ट्राफिक कन्ट्रोललाई आफ्नो नियन्त्रणमा लिएको हो ।
बीबीसीका अनुसार काबुलको हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै व्यवसायिक उडान स्थगित गरिएका छन् जसका कारण यहाँ सयौंको संख्यामा अफगानी र अन्य देशका नागरिक फसेका छन् । त्यहाँबाट सार्वजनिक गरिएको भिडियोमा मानिसहरु कुनै स्थानीय बस अड्डामा जस्तै गरी विमानस्थल र विमानतर्फ दौडिरहेका देखिन्छन् । अमेरिकाले आफ्ना सबै दूतावासका कर्मचारीलाई बाहिर निकाल्नको लागि विमानस्थलमा बोलाएको बताएको छ ।
अमेरिकाले त्यहाँबाट आफ्ना मानिसहरु बाहिर निकाल्नको लागि ६ हजार सैनिक पठाएको छ । यसअघि सोमबार बिहान अमेरिकी सेनाले विमानस्थलमा हावामा गोलीसमेत चलाएको थियो । एक अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आम मानिसहरुलाई हवाइजहाजमा चढ्नबाट रोक्नका लागि अमेरिकी सेनाले हावामा गोली चलाउनुपरेको बताए । यी अधिकारीले भने ‘भीड अनियन्त्रित भएको थियो र यो फायरिङ केवल भीडलाई तितरबितर पार्नको लागि थियो ।’
सामाजिक संजालमा भाइरल भइरहेका भिडियो क्लिपमा गोली चलाएको आवाज सुन्न सकिन्छ । यसका साथै विवश मानिसहरु जहाजको आसपास घुमेको र सिढी चढ्ने कोसिस गरिरहेको देख्न सकिन्छ । अमेरिकी सैन्य टुकडी विमानस्थलमा छन् जहाँ कथित रुपले उनीहरुले सैन्य विमानबाट दुतावासका कर्मचारीलाई निकाल्न प्राथमिकता दिइरहेका छन् । समाचार एजेन्सीहरुका अनुसार काबुल विमानस्थलबाट सबै व्यवसायिक उडान स्थगित गरिएका छन् ।







डिसी नेपाल







Facebook Comment