भीम रावलले गरे अध्यादेशको विरोध, ओलीसँगै रहेको संकेत
काठमाडौं । एमालेका विद्रोही नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका एमाले उपाध्यक्ष भीम रावलले दल विभाजनका लागि सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । यो विरोधसँगै उनले पार्टी विभाजनको विपक्षमा आफूलाई उभ्याएका छन् ।
मंगलबार साँझ ट्वीटरमा आफ्नो प्रतिक्रिया जनाउँदै उनले दल विभाजनका लागि ल्याइने अध्यादेशलाई निहित स्वार्थमा आएको देशलाई अस्थिर बनाउने खेल भनेका छन् । एमालेका विद्रोही नेता नेपालले पार्टी विभाजनको अन्तिम तयारी गरिरहेका बेला नेपाललाई सहज बनाउन सरकारले आजै अध्यादेश सिफारिस गरेको थियो । सो अध्यादेश यो समाचार तयार पार्दासम्म राष्टपतिबाट जारी भइसकेको छैन ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा त्यतिबेला उपेन्द्र यादवको दल विभाजनका लागि अध्यादेश ल्याउँदा नेपाली कांग्रेस र अरु सबै विपक्षी दलहरु तथा सत्तारुढ नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसमूहका सबै नेता कार्यकर्ताहरुले अलोकतान्त्रिक कदम भन्दै चर्को विरोध गरेका थिए । यो प्रसंगलाई समेत उल्लेख गर्दै नेता रावलले लेखेका छन्,“दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरु आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?”

नेता रावलको यो ट्वीटले उनी माधव नेपालसँग नयाँ दल बनाउने काममा संलग्न नहुने स्पष्ट संकेत गरेको छ । उनले एमाले विभाजन हुँदा २०५४ मा माओवादी हिंसा झन चर्किएको कुरा उल्लेख गर्दै पार्टी विभाजन गराउँदा सो कुराको हेक्का राक्न पनि सजग गराएका छन् । यो तर्कले उनी केपी ओली नेतृत्वको एमालेमै यथावत रहने छन् भन्ने सन्देश पनि प्रवाह भएको छ ।







डिसी नेपाल








Facebook Comment