ओलीका सल्लाहकारको आक्रोश : असार २८ को सर्बोच्च अदालतको फैसला अपराधकर्म
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले संसद पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भनी आदेश दिने सर्बोच्च अदालतको फैशलालाई “अपराधकर्म” भएको आरोप लगाएका छन्।
सर्बोच्च अदालतको संवैधानिक इजलासको फैसलाकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए भने सोही आदेशवमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त गरिएका थिए।
ओलीसत्ता गर्ल्यामगुर्लुम ढालेको सो फैसलालाई स्वीकार गरे पनि नेकपा एमालले त्यसको चर्को विरोध गर्दै आएको छ र फैसलालाई असंबैधानिक भन्दै आएको छ।
अरु नेताहरुले शिष्ट भाषामा अदालतको सो फैसलाको विरोध गर्दै आए पनि नेता रिमालले भने सो फैसलालाई सिधै अपराधकर्म भएको आरोप लगाएका छन्। आज विहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै नेता रिमालले फैसला गर्ने न्यायाधीशउपर आक्रोश व्यक्त गर्दै न्यायको आसनमा बसेर अपराधकर्म गरेको आरोप लगाएका छन्। उनले लेखेका छन्, “न्यायको आसनमा बसेर गरिएको यो अपराधकर्म इतिहासमा अंकित हुनुपर्छ भन्ने हाम्रो अविचलित मान्यता छ।”
एक अनलाइन न्युज पोर्टलको अदालतको सो फैसलाबारेको समाचारको लिंकलाई पोष्ट गर्दै उनले अदालतबाटै न्यायको अपहेलना भएको, न्यायिक नैतिकताको ठाडो उल्लंघन भएको र संविधानको तेजोबोध भएको आरोप पनि लगाएका छन्।
उनले सो फैसला कुनै अनर्थ हुनुअघि नै सर्बोच्च अदालतले आफै अग्रसर भई सच्याउन माग पनि गरेका छन्। असार २८ को सो फैसलालाई अंग्रेजीमा समेत उल्था गरेर नेपाली न्यायाधीशको प्राज्ञिकतासंग विश्वलाई परिचित गराउने भन्दै उनले संसारभरि बेइज्यत हुने खालको फैसला भएको सन्दर्भ उल्लेख गरेका छन्।
उनले लेखेका छन्,“असार २८ को फैशला हेरिसकेपछि दावीका साथ भन्न सकिन्छ, यहां अदालतबाटै न्यायको अवहेलना भएको छ । लज्जास्पद तहको न्यायिक विचलन भएको छ, न्यायिक नैतिकताको ठाडो उल्लंघन भएको छ, संविधानको तेजोबध गरिएको छ । कुनै अनर्थ हुनुअघि नै सर्बोच्च अदालते आफैं अग्रसर भई यसलाई सच्याउनु पर्दछ । हामी यस श्रृंखलाबद्ध विश्लेषण र असार २८ को फैशलाको अंग्रेजी अनुवादसमेत गरी विश्वलाई नेपाली न्यायाधीशको ‘प्राज्ञिकतासँग अवश्य परिचित गराउनेछौं । न्यायको आसनमा बसेर गरिएको यो अपराधकर्म इतिहासमा अंकित हुनुपर्छ भन्ने हाम्रो अविचलित मान्यता छ।”







डिसी नेपाल








Facebook Comment