अफगानिस्तानका हटाइएका उपराष्ट्रपतिको तालिबानलाई चुनौती, आफू काबुलमै भएको घोषणा

डिसी नेपाल
२ भदौ २०७८ १२:२४
24.7k
Shares

काठमाडौं। अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहले आफू काबुलमा भएको र आफू नै देशको वैध कार्यवाहक राष्ट्रपति भएको बताएका छन् । राजधानी काबुलमा तालिबानले कब्जा गरेको केही समयमै राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए । सालेह पनि त्यतिबेलै राष्ट्रपतिको साथमा गएको अनुमान गरिएको थियो तर उनले आफू अफगानिस्तानभित्रै त्यो पनि काबुलमै भएको बतार्एका छन् ।

यसअघि गत हप्ता राष्ट्रपति गनीको अध्यक्षतामा बसेको सुरक्षा बैठकमा पनि सालेहले आफूलाई आफ्नो सशस्त्र बलमाथि गर्व भएको बताउँदै तालिबानविरुद्ध प्रतिरोधलाई बलियो बनाउन सरकारले सबै किसिमका उपाय गर्ने बताएका थिए । तर, अफगानिस्तान तालिबानको कब्जामा पुगिसकेको छ र तालिबानलाई अफगानिस्तान कब्जा गर्न केही दिन मात्र लाग्यो ।

मंगलबार सिलसिलेवार ट्वीट गर्दै सालेहले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । उनले अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनसँग तर्क गर्नु बेकार रहेको बताएका छन् । सालेहले अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाउँदै बाइडेनले अफगानी नागरिकहरुसँग अफगानिस्तान भियतनाम होइन भनेर देखाउन आह्वान गरेको बताएका छन् ।

संयोगले एउटा यस्तो भिडियो पनि जारी भएको छ जसमा अफगान नागरिकहरु अमेरिकी सैन्य विमानमा चढ्न प्रयासरत देखिएका छन् । ती अफगानीहरु उड्न लागेको विमानमा चढ्ने प्रयास गर्दै गरेका देखिएका छन् । यो भिडियोले १९७५ मा भियतनाममा भएको घटना याद दिलाएको छ । त्यतिबेला भियतनामबाट अमेरिकी सेना फर्किने बेला भियतनामी नागरिक अमेरिकी सेनाको हेलिकप्टरमा चढ्न खोजेका थिए ।

सालेह कहाँ छन् भन्ने अहिलेसम्म स्पष्ट छैन तर उनले ट्वीटमार्फत आफू काबुलमा रहेको बताएका छन् । उनले आफू कुनै पनि परिस्थितिमा तालिबानको अगाडि नझुक्ने बताएका छन् । उनले उत्तरी गठबन्धनका नेता शाह मसूदलाई कहिल्यै पनि धोका नदिने बताएका छन् । शाह मसूदको ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आक्रमण हुनुभन्दा ठिक अघि अल कायदाले हत्या गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *