शरण पाएपछि गनीले भने ‘नभागेको भए जनताले अर्को राष्ट्रपतिलाई खुलेआम फाँसी दिइएको देख्थे’
काठमाडौं। अफगानिस्तानका अपदस्त राष्ट्रपति अशरफ गनीले परिवारसहित संयुक्त अरब इमिरेट्समा शरण लिएका छन् । देश छोडेको चौथो दिन अबेर राती पौने ११ बजे उनी पहिलो पटक सार्वजनिक रुपमा देखिए । उनले भने ‘म यदि देश छोडेर नभागेको भए रक्तपात हुन्थ्यो । म आफ्नो देशमा यस्तो भइरहेको देख्न सक्दिनथें त्यसैले म हट्नुपर्यो । मलाई पनि फाँसीमा झुण्ड्याइन्थ्यो ।’
गनीले पैसा लिएर भागेको आरोपमा पनि सफाइ दिए । उनले भने ‘म देशको प्रसा लिएर आएको छैन । यो आरोप निराधार छ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानका विषयमा गनीले भने ‘हामी तालिबानसँग कुरा गरिरहेका थियौं तर यो नतिजाविहीन रह्यो ।’ उनले आफ्नो सेना र अधिकारीहरुलाई धन्यवाद पनि दिए ।
गनीले भनेका छन् ‘तालिबानसँग भएको सम्झौतामा यो प्रस्ट भनिएको थियो कि उनीहरु काबुल सहरभित्र आउने छैनन् । आइतबार दिउँसो मलाई मेरा गार्डले तालिबान राष्ट्रपति भवनको बाउन्ड्रीसम्म पुगिसकेको बताए । यदि म अफगानिस्तानमा बसेको भए देशका जनताले अर्का एक राष्ट्रपतिलाई खुलेआम फाँसीको फन्दामा झुण्डिरहेको देख्थे ।’
उनले अगाडि भने ‘म देशबाट कुनै किसिमको नगद लिएर हिँडेको छैन । मैले युएइ पुगेपछि आम नागरिकले जस्तै कस्टम क्लियरेन्स लिएँ । मैले आफ्नो कपडा मात्र साथमा ल्याएको छु । मेरो लाइब्रेरी साथमा ल्याउन चाहन्थें तर यो पनि सम्भव हुन सकेन । हाम्रो सुरक्षा बल असफल भएका होइनन् । देशका ठूला नेता र अन्तर्राष्ट्रिय समुदाय असफल भए । म आफ्नो देश फर्कन चाहन्छु र यसको लागि हमिद कारजाइ र अब्दुल्ला अब्दुल्लासँग सम्पर्कमा छु । उनीहरु तालिबानसँग कुरा गरिरहेका छन् ।’
यसअघि अफगानिस्तानमा पूर्व राष्ट्रपति मोहम्मद नजीबुल्लाहलाई तालिबानले फाँसी दिएका थिए । १९९६ मा तालिबानले पहिलो पटक काबुल र अफगानिस्तानमा कब्जा गरेको थियो । त्यतिबेला मोहम्मद नजीबुल्लाह राष्ट्रपति थिए । तालिबानले पहिले उनलाई सुरक्षाको विश्वास दिलाए तर केही घण्टापछि नै काबुलको एक चौराहामा खुलेआम फाँसीका झुण्ड्याइदिए । त्यसपछि शवलाई घिसारिएको थियो ।







डिसी नेपाल







Facebook Comment