देश कब्जा गरे पनि अफगानिस्तानको दशौं अर्बको सरकारी ढुकुटी तालिबानले चलाउन सक्दैन
काठमाडौं। तालिबानले अफगानिस्तानमाथि कब्जा गरेको छ । अब देशमा शासन गर्नको लागि उसलाई पैसाको आवश्यकता पर्छ । तर, देशको दशौं अर्ब डलर बराबरको सम्पत्ति उसले चलाउन सक्दैन । देशको ढुकुटीसम्म पुग्न तालिबानले अझै कैयौं चरणहरु पार गर्नुपर्नेछ र त्यसको लागि उसलाई धेरै लामो समय लाग्नेछ । अफगानिस्तानको केन्द्रीय बैंक द अफगानिस्तान बैंक (डिएबी) का कार्यवाहक गभर्नर अजमल अहमदीले अफगानिस्तानको सरकारी ढुकुटीको अधिकांश पैसा अफगानिस्तान बाहिर रहेको बताएका छन् ।
यसअघि नै काबुल छोडिसकेका अहमदीका अनुसार गत हप्ता अफगानिस्तानसँग करिब १० अर्ब डलर थियो । यसमध्ये धेरैजसो पैसा अफगानिस्तानबाहेक अन्य देशमा रहेका बैंकमा सुरक्षित छ । अहमदीका अनुसार गत हप्ता केन्द्रीय बैंकमा कूल मुद्रा ९ अर्ब डलर थियो । तर यसको अर्थ यो होइन कि केन्द्रीय बैंकले आफ्नो बाकसमा ९ अर्ब डलर राखेको थियो । अन्तर्राष्ट्रिय मानक अनुसार अधिकांश सम्पत्ति सुरक्षित कोषागार र सुनको रुपमा राखिन्छ ।
अफगानिस्तानको कूल मौद्रिक सम्पत्तिमध्ये मामुली राशी नगद मात्र अफगानिस्तानमा छ । अहमदीका अनुसार फेडरल रिजर्भ होल्डिङमा ७ अर्ब डलर, युएस बिल एण्ड बण्डमा ३.१ अर्ब डलर, डब्लुबी र्याम्पी एसेट्समा २.४ अर्ब डलर, सुनको रुपमा १.२ अर्ब डलर र नगदी खातामा ०.३ अर्ब डलर छ । यसका अलावा अन्तर्राष्ट्रिय खाताहरुमा १.३ अर्ब डलर र बैंक फर इन्टरनेशनल सेटलमेन्ट्समा ०.७ अर्ब डलर लगानी गरिएको छ ।
This thread is to clarify the location of DAB (Central Bank of Afghanistan) international reserves
I am writing this because I have been told Taliban are asking DAB staff about location of assets
If this is true – it is clear they urgently need to add an economist on their team
— Ajmal Ahmady (@aahmady) August 18, 2021
अहमदीका अनुसार सुरक्षा स्थिति बिग्रिएपछि अमेरिकाबाट डलरको शिपमेन्ट आएको छैन त्यसैले अमेरिकाको केन्द्रीय बैंकमा नगद नगण्य मात्र छ । तालिबानले कब्जा गर्ने डलर विगत केही दिनयता अमेरिकासहित अन्य देशले अफगानिस्तानमा नगद पठाउन बन्द गरेका थिए । उता अमेरिकी प्रशासनले आइतबार अमेरिकामा रहेका अफगान सरकारका बैंक खाताहरु सील गरिदिएको छ । अब अमेरिकी बैंकमा राखिएको अरबौं डलरसम्म पुग्न तालिबानलाई निकै कठिन हुनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले मौजुदा स्थितिका कारण अफगानिस्तानको ४४० मिलियन डलरको फण्ड ट्रान्सफर पनि रोकिदिएको छ । रोयटर्सका अनुसार अमेरिकाको दबाबमा आइएमएफले यस्तो गरेको हो । आइएमएफले भने अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानको सरकारलाई मान्यता दिने कि नदिने भन्ने विषयमा प्रस्ट नभएको अवस्थामा आइएमएफको तर्फबाट विकाशशील देशलाई दिइने सहयोगको प्रयोग गर्न नसकिने बताएको छ ।
अहमदीका अनुसार तालिबानले सजिलैसँग अफगानिस्तानको कूल अन्तर्राष्ट्रिय धनको ०.१ प्रतिशतदेखि ०.२ प्रतिशत मात्र चलाउन पाउँछ । यसबाहेक अरु सबै रकम तालिबानले चलाउन सक्दैन । तालिबान अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबन्धको सूचीमा रहेकोले अफगानिस्तानको अन्तर्राष्ट्रिय भण्डारमा रहेको पैसा फ्रिज गरिन सक्ने उनले बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलसम्म अफगानिस्तानको केन्द्रीय बैंकसँग ९.४ अर्ब डलर आरक्षित सम्पत्ति थियो । यो अफगानिस्तानको वार्षिक राष्ट्रिय कमाइको करिब १ तिहाइ हो ।
अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिँदासम्म तालिबानले अन्तर्राष्ट्रिय मानकअनुसार राखिएको देशको पैसा चलाउन पाउँदैन । तालिबानले अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी देशमा शासन चलाएको अवस्थामा मात्र त्यो पैसा पाउन सक्छ । यसको लागि उसले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नको लागि तालिबानलाई लामो समय लाग्नेछ र त्यतिबेलासम्म उसको सरकारले मान्यता पाउन पनि कठिन छ । सरकारले अन्तर्राष्ट्रिय मान्यता नपाउँदासम्म अन्तर्राष्ट्रिय खाताको पैसा फ्रिज रहनेछ ।







डिसी नेपाल







Facebook Comment