कोरोनाको कहरः नीलबाराही नाच राति मात्र सञ्चालन

डिसी नेपाल
५ भदौ २०७८ १३:५०
128
Shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ देखि ११ गतेसम्म मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणको जोखिम बढेपछि गत वर्ष जस्तै यस वर्ष पनि राति मात्रै सञ्चालन गर्ने निर्णय भएको हो।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यस वर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्ने, टोलटोलमा राति नाच देखाए पनि स्थानीयवासीले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएको उनले बताए।

नाच सञ्चालनमा नगरपालिकाले सहयोग गर्ने बताउँदै उनले राति नाच सञ्चालन गर्दा बाहिरबाट आउने दर्शक रोकिने र स्थानीयवासीको उपस्थिति पनि कम हुने बताए। वर्षैँदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय भएको हो। कोरोना सङ्क्रमण रोक्न सबैले सचेत हुनुपर्ने बताउँदै उनले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयवासीलाई पनि सङ्क्रमणबाट जोगिन र जोगाउन सचेतना अपनाउन उनले आग्रह गरे।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु गरी मनाइने यो नाच बोडेमा राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने परम्परा रहँदै आएको छ। बोडेको अखाः द्यो छेँबाट सुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा छ। नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीय बताउँछन्।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ। नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ।

नाचमा देवगणले मुकुण्डो लगाएर घण्टाैँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालु अर्थात् सहयोगीको काखमा वा जिउमा अडेसलगाएर बस्नुपर्छ। नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात् बत्ती पनि निभ्नु हुँदैन भन्ने मान्यता छ। नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णीमासम्म नाचको तयारी गरिन्छ। जसलाई नेवारी भाषामा ‘प्याखा स्यनेगु’ भनिन्छ। नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा छ। नेपाल संवत् ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गरेकाे भन्ने वंशावलीमा उल्लेख गरिएको छ।

पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाएकी भन्ने जनविश्वास छ। देवीस्वयंमले सिकाएकाे नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीय बासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन्।

नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ। रमेश गिरी/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.