नयाँ सरकार गठनबारे कुरा गर्न वरिष्ठ तालिबान नेता काबुलमा
बीबीसी । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तानमा नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन्।
उनी अफगानिस्तानमा भएका तालिबान नेतामध्ये सबैभन्दा वरिष्ठ नेता हुन् जसले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए।
तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का छ। तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ।
बरादरबाहेक कट्टरवादी धार हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन्। उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घ दुवैले तयार पारेको फरार आतङ्कवादीको सूचीमा छ।
अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका थिए।
स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए। बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थलमा ओर्लिएका थिए।
कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनुअघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधारक्षेत्र थियो।







डिसी नेपाल







Facebook Comment