अफगानिस्तानबाट कति नेपाली स्वदेश फर्किए?
काठमाडौं। अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएपछि त्यहाँबाट नेपाली स्वदेश फर्किनेक्रम जारी छ। अफगानिस्तानमा करिव १५ सय वैधानिक बाटोबाट गएका नेपाली रहेको अनुमान परराष्ट्रमान्त्रालयले गरेको छ।
अवैध बाटोबाट अफगानिस्तान पुगेका नेपालीको तथ्यांक सरकारसँग छैन। हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार शुक्रबार आइतबार साँझसम्म
३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्।
अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
कार्यदलको आज सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो।
उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ।
उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।
यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ।
अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।
त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ।







डिसी नेपाल








Facebook Comment