नेकपा (एकीकृत समाजवादी) को महासचिवमा पाण्डे र पौडेलको दौडधुप
काठमाडौं। नवगठित नेकपा एकीकृत समाजवादीको पहिलो लक्ष्य मन्त्रिपरिषद् विस्तार रहेको छ। एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा गठित समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड दिँदै गृहकार्य थालेको छ।
गत असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए पनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सत्तारुढ गठबन्धन आलोचित बनिरहेको छ । जस कारण समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आफ्नो पार्टीबाट सहभागी हुने नेताहरुको नाम टुंग्याउने प्रयास थालेकाे छ।
मन्त्रिपरिषद् विस्तारपछि समाजवादीले राष्ट्रिय भेला आयोजना गरेर पदाधिकारी, केन्द्रीय सदस्य र जनवर्गीय संगठनहरुको टुंगो लगाउने भएको छ। मन्त्रिपरिषद् विस्तारको एक हप्तापछि राष्ट्रिय भेला आयोजना गरेर पदाधिकारीदेखि जनवर्गीय संगठन निर्माण गर्ने समाजवादीको तयारी छ।
समाजवादीले १७ सदस्यीय पदाधिकारी र एक सय ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ। तर, अहिले समाजवादीमा महासचिवका लागि दुई नेताको दौडधुप सुरु भएको छ। महासचिवका लागि राजेन्द्र पाण्डे र डा. विजय पौडेलको धुडधुप सुरु भएको हो।
पछिल्लो समय पौडेल अध्यक्ष नेपालको विश्वासपात्रको रुपमा देखिन थालेका छन्। गठबन्धनको बैठकमासमेत आफ्नो प्रतिनिधिको रुपमा नेपालले पौडेललाई पठाउने गरेका छन् । भीम रावलसहितका नेताहरुले साथ छाडेपछि अध्यक्ष नेपालको विश्वासपात्रको रुपमा पौडेल देखापरेका हुन्।
यता नयाँ दल दर्ताका लागि आवश्यक सबै बन्दोबस्त मिलाउने कार्य भने राजेन्द्र पाण्डेले गरेका छन्। यसर्थ महासचिव चयन गर्न समाजवादीलाई सकस पर्ने देखिन्छ। आगामी राष्ट्रिय भेलाबाट ७३ जिल्ला र सात प्रदेशमा जनवर्गीय संगठन बनाउने क्रियाशील बनाउने तयारी गरेको छ । पार्टी गठनपछि पत्रकारको संगठन निर्माण गरिएको छ।
शम्भु श्रेष्ठको नेतृत्वमा समाजवादी प्रेस नेपाल गठन गरेको एकीकृत समाजवादीले १७ जनवर्गीय संगठन सक्रिय बनाउने भएको हो। एमालेसँग समानान्तर समिति गठन गरेको क्रियाकलाप गर्दै आएको नेपाल समूहले अब पार्टी गठन गरेपछि सोहीअनुसार अघि बढ्न लागेको हो।







डिसी नेपाल








Facebook Comment