‘टिममेट’लाई ‘गुड बाइ’ भन्दै मैदानबाट बाहिरिए रोनाल्डो

डिसी नेपाल
११ भदौ २०७८ १७:५४
5.7k
Shares

काठमाडौं । इटालियन सिरी ए क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो साताको पहिलो प्रशिक्षणमा अनुपस्थित भएका छन् । स्काई स्पोर्ट्सका अनुसार पोर्चुगिज स्टार स्ट्राइकर क्लबको बिहानी अभ्यासमा करिब ४० मिनेट बाहिर बसेर आफ्ना सहकर्मी साथीहरुसँग ‘गुड बाइ’ भन्दै बाहिरिएका हुन् ।

३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको युभेन्ट्ससँग अझै एक वर्षको सम्झौता बाँकी रहेको छ । तर, पछिल्लो लिगमा सिरी ए सहित च्याम्पियन्स लिगमा उपाधिविहीन भएपछि रोनाल्डो एक वर्ष अघि नै सिरी ए क्लब छोड्ने मनसायमा रहेका थिए ।

रोनाल्डो म्यानचेष्टर सिटी जान लागेको चर्चा चुलिएको छ । टोलीका साथीहरुको बिहानी सत्रको करिब ४० मिनेट अभ्यास हेरेपछि रोनाल्डो गाडी चढेर बाहिरिएका हुन् । सिरी ए को पहिलो खेलमा उडिनेसविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले यस सिजन फ्रि ट्रान्सफरमा सिटी जाने योजना बनाएका हुन् ।

यता, अन्तिम समयमा इंग्ल्याण्ड राष्ट्रिय टोली तथा टोटनह्यामका कप्तान ह्यारी केन म्यान सिटी नआउने भएसँगै सिटीसमेत रोनाल्डो ल्याउने दाउमा रहेको छ । यसअघि अर्का स्टार लियोनल मेसी भित्र्याउने दाउमा रहेको सिटी अन्तिम समय त्यसमा सफल भएको थिएन ।

यता, प्रशिक्षक पेप ग्वार्डिओलासमेत रोनाल्डो ल्याउन सहमत भएका छन् । रोनाल्डो, युभेन्ट्स र सिटीबीच अब अन्तिम वार्ता भएसँगै सिटीले रोनाल्डोलाई आधिकारीक रुपमा भित्र्याउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *