काबुल विमानस्थलतिर प्रहार गरिएका रकेट विफल पारिदिएको अमेरिकी दाबी

डिसी नेपाल
१५ भदौ २०७८ ६:३३
808
Shares

बीबीसी। काबुल विमानस्थललाई लक्ष्य गरी प्रहार गरिएका केही रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले जनाएको छ।

अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा प्रदान गरिरहेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिने अघिल्लो दिन उक्त घटना भएको हो।

अमेरिकाका अनुसार सोमवार बिहान कम्तीमा पाँचवटा रकेटलाई खसालिएको थियो। प्रारम्भिक विवरणमा अमेरिकी सेनापट्टि कोही हताहत भएको सङ्केत नआएको एक अमेरिकी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।

केही स्थानीयवासीले छर्रा आफ्नो घरमा खसेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका भिडिओ र तस्बिरमा काबुलका छतबाट धुवाँ निस्किएको र एउटा जलेको गाडी सडकमा देखिन्छ।

अफगान सञ्चारमाध्यमका अनुसार एउटा सवारीसाधनको पछाडिपट्टिबाट रकेट आक्रमण गरिएको थियो। तर त्यसबारे राष्ट्रपति जो बाइडनलाई जानकारी दिइसकिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसका अनुसार अहिले पनि काबुल विमानस्थलमा अमेरिकाले आफ्नो गतिविधि “निर्बाध” सञ्चालन गरिरहेको छ। काबुलमा आइतवार अमेरिकाले गरेको एउटा हवाई आक्रमणमा गैरसैनिक नागरिकको मृत्यु भएको विवरणबारे छानबिन भइरहेको अमेरिकाले जनाएको छ।

अमेरिकी ड्रोन आक्रमणमा परेर ज्याउन गुमाउने परिवारको इस्लामिक स्टेट समूहसँग कुनै सम्बन्ध नभएको नातेदारहरूले बीबीसीलाई बताएका छन्। घरबाहिर पार्क गरेर राखिएको कारमा आक्रमण गरिँदा उक्त परिवारका छ बालबालिकासहित अन्य चार सदस्यको पनि मृत्यु भएको थियो।

अमेरिकाको सेन्ट्रल कमान्डले उक्त घटनामा १० जनाको कसरी मृत्यु भयो भन्ने स्पष्ट नभएको तर आफूले घटनासम्बन्धी विवरणहरूको छानबिन गरिरहेको जनाएको छ।

इस्लामिक स्टेटको अफगानिस्तान शाखासँग आबद्ध कम्तीमा एक व्यक्ति उक्त गाडीमा भएको यूएस सेन्ट्रल कमान्डको दाबी छ। विमानस्थलमा हुन लागेको अर्को आत्मघाती आक्रमण हुन रोकेको यसअघि अमेरिकाले बताएको थियो।

आक्रमणमा परेर पनि जीवित परिवारजनले अमेरिकी उक्त सुराक असत्य भएको बताएका छन्। बिहीवार १७० जनाजतिको ज्यान जानेगरी आत्मघाती बम विस्फोटन भएपछि अमेरिकी राष्ट्रपति बाइडनले काबुल विमानस्थलमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका थिए।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई “खतरा” रहेकाले विमानस्थको क्षेत्रबाट पर बस्न भनेको छ। अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ। बिहीवारको हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट-केले लिएको थियो।

काबुल विमानस्थलमा भएको हमलाको प्रत्युत्तरमा अमेरिकाले शुक्रवार अबेर पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई सदस्य मारिएको बताएको थियो।

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार भएको दाबी गरिएको छ। तालिबानका सर्वोच्च कमान्डर हिबतुल्लाह अखुन्दजादा कान्दहारमा भएको अफगान सञ्चारमाध्यमले बताएका छन्।

उक्त समूहका प्रवक्ता जाबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले अखुन्दजादा चाँडै सार्वजनिक रूपमा देखा पर्ने जनाएका छन्।

उनी ६० वर्षमाथिको भएको विश्वास गरिन्छ। उनले सन् २०१६ को मे देखि तालिबानको राजनीतिक, सैन्य र धार्मिक मामिलाको नेतृत्व गर्दै आएका छन्।

पहिला विभिन्न समयमा उनको मृत्यु भइसकेको भन्दै समाचार आएको थियो। सन् १९८० को दशकमा उनी सोभियत सैन्य अभियानविरुद्ध इस्लामिक प्रतिरोधमा सहभागी भएका थिए।

तर उनको छवि सैन्य कमान्डरको भन्दा पनि धार्मिक नेताको बढी छ। तालिबानले अफगानिस्तानमा शासन गर्दा उनी शरिया अदालतका प्रमुख थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *