नेपालविरुद्ध भारत : नेपाली रेफ्रीले खेल संचालन गर्ने

डिसी नेपाल
१६ भदौ २०७८ ७:०४
3.6k
Shares

काठमाडौं। नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेलको संचालन नेपाली रेफ्रीले गर्ने भएका छन्। नेपाल र भारतबीच बिहीबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका ‘फिफा रेफ्री’ लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो।

‘फिफाको निर्देशन अनुसारनै हामीले आफ्नै रेफ्रीलाई खेल संचालन गराउन लागेको हौं, ‘ एन्फा स्रोतले भन्यो।

सोही अनुसार एन्फाले नेपालमा रहेका फिफा रेफ्रीलाई परीक्षणसमेत गरेको थियो। एन्फाले आफू अन्तर्गत रहेको रेफ्री संघलाई निर्देशन दिएसँगै नवनियुक्त रेफ्री डाइरेक्टर गौतम कौरले ८ रेफ्रीको टेस्ट लिएका हुन्। भारतीय पूर्वरेफ्री समेत रहेका गौतमको आगमन सँगै नेपाली रेफ्रीले पहिलो खेल संचालन गर्न लागेका हुन्।

एन्फाले मंगलबार अपरान्ह दशरथ रंगशालामा ४ सेन्टर रेफ्री तथा ४ सहायक रेफ्रीको परीक्षण गरेको हो। जहाँ सहभागी ८ रेफ्री नै सफल रहे। हाल नेपालमा १० पुरुष तथा दुई महिला गरी १२ फिफा रेफ्रीको कोटा छ।

यस पटक रेफ्रीमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहने छन् । यस्तै सहायक रेफ्रीमा माधव खत्री, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादव रहने छन् ।

यसअघि मार्चमा भएको थ्रि नेसन्स कपमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका नानी राम थापा र युनाल मल्ल भने मैत्रीपूर्ण खेल बाहिर रहे । रेफ्री र सहायक रेफ्रीसँगै फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नरसमेत दुई मैत्रीपूर्ण खेलमा नेपालकै पदाधिकारी रहने छन्।

नेपाल र भारत दुबैले आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ । जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबर भएको छ । यस्तै नेपालको पक्षमा २ खेल मात्रै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *