दार्चुलामा एमाले जनप्रतिनिधि अझै खुलेनन् एकीकृत समाजवादीमा
दार्चुला। निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिन अब चार दिन बाँकी छ । तर, आजसम्म दार्चुलाका एमालेबाट निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा खुलेका छैनन्।
दार्चुलाका नौ स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि महिला ५५ र पुरुष ६७ गरी जम्मा एक सय २२ जना रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले बताए । जिल्लाका नौ स्थानीय तहमध्ये तीनजना अध्यक्ष र चारजना उपाध्यक्ष एमालेबाट निर्वाचित छन्।
जिल्लाका ६१ वडामध्ये २२ वटामा एमालेबाट निर्वाचित वडाध्यक्ष छन्। महिला वडा सदस्यमा २५, दलित महिला सदस्यमा २२, वडा सदस्यमा ४० जना पुरुष र तीनजना महिला निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाको तथ्यांक छ। दलित तथा अल्पसंख्यक सदस्यमा एकजना महिला र दुईजना पुरुष एमालेका जनप्रतिनिधि छन्।
एमाले छोड्न चाहने जनप्रतिनिधिले २२ भदौ साँझ ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सूचीत गरिएको छ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना र प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा एमालमै रहेकाले एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि कोही नखुलेको देखिएको छ। यसअघि माधव नेपाल समूहमा देखिएका एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले पनि एमालेमै रहने घोषणा गरेका छन्।







डिसी नेपाल








Facebook Comment