पंजशीरमा तालिबानको कब्जा !

डिसी नेपाल
१९ भदौ २०७८ १०:३४
62.4k
Shares

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण गरेको करिब २० दिनपछि र देशमा आफ्नो सरकार गठनभन्दा केही समयअघि तालिबानले पंजशीर घाटीमा पनि आफ्नो नियन्त्रण भएको बताएको छ । तर, पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले भने यो दावी अस्वीकार गरेका छन् र लडाइँ अहिले पनि जारी रहेको बताएका छन् ।

पछिल्ला केही दिनयता अहमद मसुद र अमरुल्लाह सालेहको नेतृत्वमा पंजशीरमा तालिबानविरुद्ध लडाइँ भइरहेको छ । केही दिनअघि नर्दर्न एलायन्स र तालिबानबीच वार्ता भएको थियो तर वार्ता विफल भएको छ । त्यसपछि तालिबानले पंजशीरमा नियन्त्रण गर्नको लागि आफ्ना लडाकू पठाएको थियो ।

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै तालिबानका तीन सूत्रले पंजशीरमा आफ्नो नियन्त्रण भएको बताएको हो । सूत्रले अब तालिबानको पंजशीरसहित पूरै अफगानिस्तानमा नियन्त्रण भएको बताएको हो । पंजशीरमा नियन्त्रण भएपछि तालिबानी लडाकुहरुले राजधानी काबुलमा खुसी मनाउँदै हवाइ फायरिङ गरेका थिए ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति तथा स्वघोषित संरक्षक राष्ट्रपति अमरुल्लाह सालेहले भने तालिबानको दावीको खण्डन गरेका छन् । उनले ट्वीट गर्दै लडाइँ अझै जारी रहेको र जारी रहने बताएका छन् । उनले आफू आफ्नो माटोको साथमा रहेको र यसको गरिमाको रक्षा गरिरहेको बताएका छन् ।

एक तालिबानी कमाण्डरले भने ‘हल्लाहको कृपाले पूरै अफगानिस्तान हामे नियन्त्रणमा छ । समस्या पार्नेहरुलाई हामीले हराएका छौं र पंजशीर अब हामे नियन्त्रणमा छ ।’ यद्यपि पंजशीरमा तालिबानको नियन्त्रणको आधिकारिक पुष्टि हुन सकेको छैन । यसअघि पनि तालिकानी लडाकुले यस्ता दावी गर्दै आएका छन् जसलाई अमरुल्लाह सालेहले अस्वीकार गरेका छन् ।

यही बीच अमरुल्लाह सालेहले पंजशीरमा तालिबानको नियन्त्रणको रिपोर्टलाई आधारहीन बताउँदै आफू देश छाडेर नभागेको बताएका छन् । सालेहले इण्डिया टुडेसँग टेलिफोनमार्फत कुरा गर्दै आफू पंजशीरमै रहेको र आफ्ना कमाण्डर तथा राजनीतिक नेताहरुसँग स्थितिको व्यवस्थापन गरिरहेको बताएका छन् । उनले भने ‘केही रिपोर्टहरुमा म देश छोडेर भागेको भनिएको छ यो पूरै निराधार हो । यो मेरो आवाज हो, म पंजशीर घाटीबाट, आफ्नो बेसबाट कुरा गरिरहेको छु । यो एक कठिन स्थिति हो । हामी तालिबानी, पाकिस्तानी, अल कायदा र अन्य आतंकवादी समूहको आक्रमणको खतरामा छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *