एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : अध्यक्ष ओली

डिसी नेपाल
२२ भदौ २०७८ १५:०९
572
Shares

पोखरा। एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन्। मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए।

‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन।’ नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे।

फरक प्रसंगमा ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताए। ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन्।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो। तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि। तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ।’ अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन?’

उनले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको पनि आरोप लगाए। उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.