९/११ः अमेरिकामा विनाश, अफगान युद्धको सुरुवात, खुफिया एजेन्सीको असफलतादेखि षड्यन्त्रसम्म
काठमाडौं। आज सेप्टेम्बर ११ अर्थात त्यो दिन जुन दिन आतंकवादले विश्वको इतिहास बदलेको थियो । यही दिन केही सीमित आतंकवादीहरुले विश्वकै शक्तिशाली देश अमेरिकाको मुटुमै गएर विनाशको कालो इतिहास लेखेका थिए ।
हजारौं निर्दोशहरुको ज्यान गएको यो विनाशको आज २० वर्ष पूरा भएको छ । २००१ को यो विनाशकारी आक्रमणका मुख्य योजनाकार भनिएका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकाले मारिसकेको छ । तर, त्यही दिनपछि आतंकवादविरुद्ध सुरु गरेको युद्ध बीचैमा छाडेर अमेरिका अफगानिस्तानबाट फर्किइसकेको छ ।
यो आक्रमणपछि उठेका कैयौं प्रश्नहरुको जवाफ अहिलेसम्म पाइएको पाइएको छैन । के यो आक्रमण अमेरिकी खुफिया एजेन्सीहरुको आपसी तनावका कारण भएको थियो ? के यो आक्रमण तत्कालीन बुश प्रशासनको असफलता थियो ? आज पनि प्रश्न उठिरहन्छन् कि बाहिरबाट आएका १४ जना आतंकवादीले कसरी अमेरिकामा पसेर, अमेरिकाकै ४ विमानलाई अपहरण गरेर विश्वकै सबैभन्दा सुरक्षित मानिने गगनचुम्बी भवनहरुलाई ध्वस्त पारिदिए ? यस्ता धेरै प्रश्नहरु छन् । षड्यन्त्रको कुरालाई लिएर पनि विश्वभरी चर्चा भएको छ र यस्ता कैयौं प्रश्नको जवाफ पनि समयको साथमा आइरहेका छन् ।

अमेरिकाको न्यूयोर्क सहरमा बिहान ८ बजेर ४६ मिनेट जाँदा वर्ल्ड ट्रेड सेन्टरको नर्थ टावरमा अमेरिकन एयरलाइन्सको विमान ११ ठोक्कियो । त्यसको ठिक १६ मिटेटपछि ९ बजेर २ मिनेटमा वर्ल्ड ट्रेड सेन्टरको साउथ टावरमा युनाइटेड एयरलाइन्सको विमान १७५ ठोक्कियो । यसरी २ विमान ठोक्किएपछि वर्ल्ड ट्रेड सेन्टरका आकाश छुने २ भवनहरु ध्वस्त भए । टिभी र रेडियोमा यो विनाशको तस्वीरहरु प्रसारण भइरहेका बेला ९ बजेर ३७ मिनेटमा अमेरिकन एयरलाइन्सको विमान ७७ ले भर्जिनियामा पेन्टागनको भवनलाई निशाना बनायो । त्यसपछि १० बजेर ३ मिनेटमा युनाइटेड एयरलाइन्सको विमान ९३ पेन्सलभेनियाका शंक्सभिलेमा खेतमा गएर खस्यो ।
यसरी अल कायदाका १९ जना आतंकवादीहरुले ४ विमानलाई अपहरण गरेर अमेरिकाले हल्लाइदिए । यी आत्मघाती आक्रमणकारीहरुले करिब ३ हजार जनाको ज्यान लिए र आफूहरु पनि मरे । यीमध्ये १७ जना आतंकवादीहरु फरक फरक खाडी देशका थिए । यीमध्ये धेरैजसो यस्ता थिए जो अंग्रेजी बोल्न पनि जान्दैनथे ।
युएसए टुडेले अमेरिकी जाँच एजेन्सी एफबीआइको रिपोर्टको आधारमा आफ्नो रिपोर्टमा यो आक्रमणबारे कैयौं अहम जानकारीहरु लेखेको छ । यो रिपोर्टका अनुसार हानी हंजुर र नवफ अल हाजमी नामका २ जना आतंकवादीहरु यो आक्रमणभन्दा धेरै पहिले अमेरिका पुगिसकेका थिए । उनीहरु न्यूजर्सीमा सामान्य जीवन बिताइरहेका थिए ।

हंजुरले यहाँ विमान भाडामा लिएर उडानको अभ्यास पनि गरेका थिए । एक पटक उनी विमान उडाउँदै हुडसन नदी र वर्ल्ड ट्रेड सेन्टरहुँदै गएका पनि थिए । अल हाजमी भने कार भाडामा लिएर हिँडिरहन्थे ।
यी दुई आतंकवादीहरुले कुनै पनि नक्कली परिचय प्रयोग गरेका थिएनन् । उनीहरु भूमिगत पनि थिएनन् बरु अमेरिकामा आम मानिसहरुजस्तै बसिरहेका थिए । यी दुईमात्र नभइ सबै १९ जना आतंकवादीहरु एकदमै सही दस्तावेका साथ अमेरिका प्रवेश गरेका थिए र उनीहरुको भिसा पनि वैध थियो ।
यी आतंकवादीहरुको नेतृत्व मोहम्मद अताले गरिरहेका थिए । यीमध्ये २ जना अमेरिकी जाँच एजेन्सीको राडारमा थिए । अमेरिकी खुफिया एजेन्सी सीआइएलाई अल हाजमी र खालिद अल मिदहार अल कायदाका एजेन्ट हुन् भन्ने थाहा थियो । सीआइएले यी दुईलाई मध्यपूर्वदेखि मलेसिया, मलेसियाबाट थाइल्याण्ड र थायल्याण्डबाट लस एन्जल्ससम्म ट्रयाक गरेको थियो ।
तर, सीआइएले यो जानकारी एफबीआइलाई दिएको थिएन । सीआइएले एफबीआइसँग यो जानकारी त्यस्तो समयमा साझा गरेको थिएन जतिबेला अल कायदाका प्रमुख ओसामा बिन लादेनले दिएको धम्कीबारे पनि सबैलाई थाहा थियो । अमेरिकी एजेन्सीहरुलाई यो पनि थाहा थियो कि मलेसियामा ५ जनवरी २००० मा भएको बैठकमा आक्रमणको योजना बनाइएको थियो ।

एफबीआइका कैयौं विशेष एजेन्टहरु आज पनि प्रश्न उठाउँछन् कि सीआइएले त्यो जानकारी एफबीआइलाई किन दिएन ? काउन्टर टेरर विशेषज्ञ र एफबीआइका पूर्व विशेष एजेन्ट मार्क रोसिनी पनि तीमध्ये एक हुन् ।
हालै युएसए टुडेलाई दिएको एक अन्तरवार्तामा बताएअनुसार उनले सीआइएसँग मिलेर काम गर्दा अल आजमी र अल मिहदारको बारेमा सन् २००० को सुरुवातमै जानकारी प्राप्त भएको थियो । उनले सीआइएसँग यो जानकारी एफबीआइलाई दिन भनेका थिए तर यसो गरिएन र उनलाई पनि चुप रहन भनियो ।
सीआइएले यो जानकारीलाई ‘टप सिक्रेट’ भनेर आफूसँगै राखेको थियो र एफबीआइलाई बताएको थिएन । मार्क रोसिनीले भने ‘सीआइएका अफिसरले मलाई भनेका थिए कि अल आजमी र अल मिदहार आउनु अमेरिकामाथि आक्रमणको संकेट होइन बरु यो डाइभर्ट गर्नका लागि गरिएको हो । सीआइएलाई विश्वास थियो कि अल कायदाले आक्रमण दक्षिण पूर्वी एसियामा गर्नेछ । सीआइएको योजना यो पनि थियो कि यी दुईको माध्यमबाट अल कायदाको नेटवर्कबारे जानकारी लिइयोस् ।’

तर, सीआइएको यो योजना उल्टै आत्मघाती भयो । पछि सीआइएले आक्रमणको केही दिन पहिले मात्रै यी दुईको जानकारी एफबीआइलाई दिएको थियो । तर, शायद त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।
एफबीआइका पूर्व विशेष एजेन्ट अली एच सुफान पनि यो आक्रमणलाई एजेन्सीहरुको असफलता मान्छन् । अलीले एक अन्तरवार्ताको क्रममा भनेअनुसार यो आक्रमणका बेला उनी यमनमा थिए । यो खबर सुनेपछि नै उनलाई यो अल कायदाले नै गरेको भन्ने विश्वास भइसकेको थियो । अलीका अनुसार समयमै जानकारी साझा गरिएको भए अवस्था अर्कै हुन्थ्यो ।
यो आक्रमणसँग जोडिएर षड्यन्त्रका कुराहरु पनि लामो समयदेखि चलिरहेका छन्। विमान ठोक्किएपछि यी दुई टावर यति छिटो कसरी ढले भन्ने प्रश्नसँगै टावरहरुलाई निकै नियन्त्रित तरिकाले नष्ट गरिएको दावी पनि गरिन्छ । बीबीसीका अनुसार यो दावीलाई खारेज गर्ने द नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्डस् एण्ड टेक्नोलोजीको एक रिपोर्ट पनि सार्वजनिक भएको छ
यो रिपोर्टका अनुसार विमान ठोक्किएपछि पिलरहरु भाँचिएका थिए । साथमा विमानमा भएको १० हजार ग्यालेन तेल निस्किएर फैलिएपछि आगो लाग्दै गएको बताइएको छ । भवनभित्रको तापक्रम बढेर फलामका छडहरु झुक्न लागेपछि भवन ढलेको रिपोर्टमा उल्लेख छ ।

यो कुरामा पनि प्रश्न उठिरहेका छन् कि केवल चक्कु र बक्स कटरको सहयोगमा १९ जना आतंकवादीले कसरी विमानस्थलको सुरक्षालाई पार गरेर ४ विमानलाई अपहरण गरेर अमेरिकामाथि यति घातक प्रहार गरे ?
आक्रमणपछि इजरायल र उसको खुफिया एजेन्सी मोसादको विषयमा पनि कैयौं षड्यन्त्रका कुराहरु आए । यहुदी विरोधी विचार र षड्यन्त्रलाई सार्वजनिक गर्ने संगठन एडिएलले पनि यस विषयमा आफ्नो रिपोर्ट जारी गरेको छ । यो रिपोर्टमा यो आक्रमणसँग सम्बन्धित कस्ता कस्ता दावीहरु गरिए भन्ने उल्लेख छ ।
‘वर्ल्ड ट्रेड सेन्टरमा काम गर्ने करिब ४ हजार इजरायलीहरुलाई गुप्त रुपमा सेप्टेम्बर ११ मा ड्युटीमा नजान भनिएको थियो । यही कारण वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणमा एक जना पनि इजरायली वा अमेरिकी यहुदीको मृत्यु भएन’ एडिएलको रिपोर्टमा भनिएको छ ।
यसो गरेर इजरायली र यहुदीविरुद्ध षड्यन्त्र गरिएको र यो आक्रमण मोसादले गरेको भन्ने देखाउन खोजिएको रिपोर्टमा भनिएको छ । यो रिपोर्टमा गरिएको दावीअनुसार यस किसिमका दावीहरु फार राइट चरमपन्थी, मुस्लिम र अरब दुष्प्रचारकहरुले फैलाएका थिए ।

९/११ को आक्रमणको ९ दिनपछि २० सेप्टेम्बर २०२१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले आतंकविरुद्ध युद्ध अर्थात वार अन टेररको घोषणा गरे । बुशले भनेका थिए ‘आतंकविरुद्ध हाम्रो लडाइँ अल कायदाबाट सुरु हुन्छ तर यो यहीँ सकिने छैन ।
यो लडाइँ तबसम्म सकिने छैन जबसम्म विश्वका हरेक आतंकी संगठनबारे पत्ता लगाइँदैन, उनीहरुलाई रोकिँदैन र उनीहरुलाई हराइँदैन ।’ बुशले आत.कविरुद्ध प्रण लिएपछि यसका लागि अमेरिकी सेना परिचालन गरियो । अक्टोबर २००१ मै अमेरिकी सेना अफगानिस्तान प्रवेश गर्यो र अल कायदाको नेटवर्कलाई ध्वस्त पार्न सुरु गर्यो ।
अमेरिकी विदेश मन्त्रालयको रिपोर्ट ‘ग्लोबल वार अन टेरोरिज्मः द फर्स्ट हन्ड्रेड डेज’ मा उल्लेख भएअनुसार अमेरिकी सेना अफगानिस्तान प्रवेश गरेपछि अल कायदाका प्रशिक्षण क्याम्प ध्वस्त पारियो, उनको फण्डिङ नेटवर्क तोडियो, अफगानिस्तानबाट तालिबानलाई हटाएर त्यहाँ अल कायदालाई कमजोर पारियो र आतंकविरुद्ध विश्वलाई एकजुट पारियो ।
रिपोर्टका अनुसार विश्वका १३६ देशहरुले अमेरिकालाई सैन्य सहयोगको प्रस्ताव गरे । १४२ देशहरुले आतंकवादीहरुको सम्पत्तिहरु फ्रिज गरिदिए । अमेरिकामा मात्र १५३ जना ज्ञात आतंकवादीहरु र आतंकवादी संगठनहरुको आर्थिक स्रोत रोक्का गरियो ।

९/११ आतंकवादी आक्रमणका कारण मुसलमानहरुलाई पहिचानको संकट पनि देखियो । अमेरिकामै त्यहाँका मुसलमानहरुले घृणाको सामना गर्नुपर्यो । उनीहरुलाई शंकाको दृष्टिले हेर्न थालियो । यहाँसम्म कि कैयौं मुसलमानहरुविरुद्ध कारवाही पनि गरियो । पूरै विश्वमा यसको चर्चा भयो । यस विषयमा फिल्महरु पनि बने ।
यी फिल्महरुमा हरेक मुसलमान आतंकवादी हुँदैनन् भन्ने देखाउने प्रयास गरियो । शाहरुख खानको बलिउड फिल्म ‘माइ नेम इज खान’ यसको उदाहरण हो । अमेरिकी सरकारले पनि यसको प्रयास गर्यो । राष्ट्रपति बुशले ह्वाइट हाउसमा पहिलो पटक रमजान पार्टीको आयोजना गरे र इद मिलन समारोह पनि गरे ।
९/११ आक्रमणपछि अमेरिकाले हरेक मोर्चामा आतंकवाद वा अन्य खतराहरुलाई चुनौती दिन थाल्यो । एकातिर अफगानिस्तानमा तालिबान राजको अन्त्य गरेर अल कायदालाई परास्त गर्न लागिएको थियो भने अर्कोतिर अमेरिकाले इराकी राष्ट्रपति सद्दाम हुसेनमाथि विनाशकारी हतियार बनाएको आरोप लगाउँदै इराकमाथि पनि आक्रमण गर्यो ।
सद्दाम हुसेनलाई २००३ मै अमेरिकाले फाँसी दिएर मारिदियो तर ९÷११ आक्रमणका मुख्य योजनाकार भनिएका ओसामा बिन लादेनलाई मार्न उसलाई १० वर्ष लाग्यो । २०११ मा पाकिस्तानको एबटाबादमा लादेनलाई मारियो ।

अहिले अमेरिकाले अल कायदाविरुद्ध आफ्नो उद्देश्य पूरा भएको भन्दै अफगानिस्तानमा आफ्नो युद्ध अन्त्य गरेको छ । अमेरिकी सेना अफगानिस्तान छोडेर फर्किएको छ ।
अमेरिकी सेना फर्किएसँगै अफगानिस्तानमा फेरि तालिबान राज कायम भएको छ । अमेरिकाले अल कायदाविरुद्ध आफ्नो उद्देश्य पूरा भएको भन्दै गर्दा विशेषज्ञहरुले भने अल कायदा अब पहिलेभन्दा धेरै बलियो भएको मान्छन् ।
अल जजीराले सीएसआइएसमा अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका निर्देशक सेठ जी जोन्सलाई उद्धृत गर्दै लेखेको छ ‘जति ठाउँमा उनीहरु २००१ मा थिए त्योभन्दा धेरै ठाउँमा उनीहरु अहिले छन् ।
यसमा कुनै शंका नै छैन । साथमा अफगानिस्तानमा तालिबान आउनुले आतंकवादी समूहलाई अझै मजबुती दिनेछ ।’ जोन्सका अनुसार आतंकविरुद्धको युद्ध कुनै पनि तरिका, आकार वा रुपमा समाप्त भएको छैन ।







डिसी नेपाल







Facebook Comment