म्यानमारमा सेना र विद्रोहीबीच भीषण युद्ध, विद्यार्थीहरुसहित ठूलो संख्यामा गाउँलेहरु मारिए
काठमाडौं। म्यानमारमा सेना र विद्रोही प्रतिरोध बलबीच जुलाइपछिकै सबैभन्दा भीषण युद्ध भएको छ । युद्धमा कैयौं किशोर विद्यार्थीहरुसहित कम्तीमा २० जना गाउँलेहरु मारिएका छन् । एक जना गाउँले र स्वतन्त्र मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार उत्तर पश्चिमी म्यागवे क्षेत्रमा गंगव टाउनशिप नजिकै शुक्रबार लडाइँ सुरु भएको थियो । यसको २ दिनअघि विपक्षी संगठन नेशनल युनिटी गभर्नमेन्टले राष्ट्रव्यापी विद्रोहको आह्वान गरेको थियो ।
एक स्थानीयले टेलिफोनमार्फत रोयटर्सलाई बताएअनुसार म्यिन थार गाउँमा आएका सेनाले भारी हतियारहरु प्रयोग गरेर गाउँमा आक्रमण गरेका थिए । उनका अनुसार उनका १७ वर्षका छोरासहित ३ जना बालबालिका पनि मारिने २० जनामध्येका हुन् । सेनाले गाउँमा आएर भारी हतियारले आक्रमण गर्नुका साथै गाउँका घरहरु समेत जलाएको बताउँदै उनले आफूले उनीहरुलाई कहिल्यै माफ नगर्ने बताए ।
गाउँलेहरुका अनुसार सेल्फ डिफेन्स ग्रुपका कम्तीमा ११ सदस्य मारिएका छन् । इन्टरनेटमा मारिनेहरुका शवको तस्वीर पनि निकै शेयर गरिएको छ । ती गाउँलेले अगाडि भने ‘हामीसँग केवल हातबाट बनेका बन्दुक छन् । लडाइँको केही समयपछि बन्दुकहरु बिग्रिए । यही कारण धेरै मानिसहरु हताहत भए ।’ गएको फेब्रुअरीमा आंग सांग सुकीको निर्वाचित सरकारलाई हटाएर सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा विद्रोह सुरु भएको थियो ।







डिसी नेपाल







Facebook Comment