तालिबानको अन्तरिम सरकारमा आपसी फुट, उपप्रधानमन्त्री बरादर काबुल छोडेर हिँडे
काठमाडौं। तालिबानको अन्तरिक सरकारमा आपसी फुट परेको छ । तालिबानका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले तालिबान सरकारमा सहभागी नेताहरु विभाजित भएको बताएको हो । उनका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादरको समूह र एक क्याबिनेट सदस्यबीच भनाभन भएको थियो ।
पछिल्ला केही दिनयता मुल्ला गनी बरादर सार्वजनिक रुपमा देखिएका छैनन् । त्यसपछि नै तालिबानमा नेतृत्वका विषयमा असहमति सतहमा आएको मानिएको छ । तर, यी खबरलाई तालिबानले भने आधिकारिक रुपमा खारेज गरेको छ । तालिबानले गत महिना अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो । त्यससँगै अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट बनाउने घोषणा गरिएको थियो ।
तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रिपरिषदको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र शीर्षमा रहेका सबै पछिल्लो २ दशकमा अमेरिकी बलमाथि आक्रमणको लागि कुख्यात छन् । तालिबानको एक सूत्रले बीबीसी पश्तोसँग कुरा गर्दै बरादर र खलील उर रहमानबीच आपसी भनाभन भएको बताएको छ । त्यसपछि दुईका समर्थक एक अर्कासँग भिडेका थिए । खलील उर रहमान हक्कानी नेटवर्ककका नेता र तालिबान सरकारमा शरणार्थी मन्त्री हुन् ।
यो विवादका प्रत्यक्षदर्शीसमेत रहेका कतारस्थित तालिबानका एक शीर्ष सदस्यले गत हप्ता यो घटना भएको पुष्टि गरेका छन् । सूत्रका अनुसार अन्तरिक सरकारमा उपप्रधानमन्त्री बनाइएका बरादर सरकारको संरचनासँग सन्तुष्ट नभएका कारण विवाद भएको थियो । अफगानिस्तानमा जीतको श्रेयलाई लिएर तालिबानी नेताहरुमा विवाद छ ।
रिपोर्टका अनुसार बरादर उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानको सत्ता पाएको मान्छन् भने हक्कानी नेटवर्ककका सदस्य र समर्थकहरु भने अफगानिस्तानमा जीत लडाइँको बलमा पाएको मान्छन् । हक्कानी नेटवर्कको नेतृत्व तालिबानका एक शीर्ष नेतासँग छ ।
बरादर तालिबानको पहिलो यस्तो नेता हुन् जसले २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा सिधै कुरा गरेका थिए । यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिक फिर्ता जाने विषयमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क छ जो पछिल्ला वर्षहरुमा पश्चिमी बलहरुमाथि सबैभन्दा हिंस्रक आक्रमणमा संलग्न थियो । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषित गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री छन् । गत हप्ता तालिबानको सबैभन्दा अहम अनुहार मानिने बरादर अचानक गायब भएपछि हल्ला धेरै नै चलेको छ । सामाजिक संजालमा उनको मृत्युको खबरसम्म फैलियो ।
बीबीसीसँग तालिबान सूत्रले बताएअनुसार विवादका कारण बरादर काबुल छोडेर कान्दाहार गएका छन् । सोमबार बरादरको नामबाट एउटा अडियो क्लिप जारी भएको थियो जसमा उनले आफू यात्रामा बाहिर भएको बताएका छन् । अडियो क्लिपमा उनले अहिले आफू जहाँ भए पनि ठिक भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment