तालिबानले सहयोगका लागि विश्वलाई धन्यवाद दियो, अमेरिकालाई ‘ठूलो मन’ बनाउन आग्रह गर्यो
काठमाडौं। तालिबानले अफगानिस्तानलाई करोडौं डलरको आपतकालीन सहयोग गरेकोमा विश्वलाई धन्यवाद भनेको छ । साथमा उसले अमेरिकालाई गरिब देशहरुप्रति ‘ठूलो मन’ बनाउन आग्रह गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार जेनेभामा मंगलबार भएको दाता सम्मेलन अफगानिस्तानलाई १.२ अर्ब डलर सहयोग दिने प्रतिबद्धतासहित समाप्त भएको थियो । अहिले अफगानिस्तानमा तालिबानको शासन छ र राजनीति, सामाजिक र आर्थिक मोर्चामा देश निकै कठिनाइमा छ ।
लामो समयदेखि विश्वका अन्य देशहरुले दिएको सहयोगमा निर्भर अफगानिस्तान अहिले आर्थिक संकटसँग जुधिरहेको छ । स्थिति यतिसम्म दयनीय भइसकेको छ कि सरकारी कर्मचारीले महिनामा पारिश्रमिक पाउन सकेका छैनन् । उनीहरुलाई खानपिनका सामान किन्न पनि कठिनाइ भएको छ । तालिबानका नयाँ कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्तकीले एक पत्रकार सम्मेलनमा अफगानिस्तानले पाउने सहायता राशी तालिबानले समझदारीपूर्वक खर्च गर्ने बताए । उनले सहयोग राशीको उपयोग गरिबी न्यूनीकरणका लागि गरिने बताए ।
मुत्तकीले भने ‘हामी अफगानिस्तानको लागि विश्व समुदायले गरेको १ अर्ब डलर सहयोगको प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गर्दछौं र सहयोग भविष्यमा पनि जारी राख्न अपिल गर्छौं । इस्लामिक इमिरेटले पूर्ण रुपमा पारदर्शी तरिकाले आवश्यकतामा रहेका जनतासम्म यो सहयोग पुर्याउने कोसिस गर्नेछ ।’ मुत्तकीले अमेरिकालाई सम्बोधन गर्दै उसले तालिबानको प्रशंशा गर्नुपर्ने पनि बताए । तालिबानले गत महिना सेना र हजारौं अरु मानिसहरु निकाल्न अनुमति दिएकोमा अमेरिकाले प्रशंशा गर्नुपर्ने उनले बताए ।
आफ्नो सम्बोधनमा उनले अगाडि भने ‘अमेरिका ठूलो देश हो र ऊसँग ठूलो मन पनि हुनुपर्छ ।’ मुत्तकीले अफगानिस्तानले खडेरीको पनि सामना गरिरहेको बताए । उनका अनुसार तालिबान सरकारले पाकिस्तान, कतार र उज्वेकिस्तानजस्ता देशहरुबाट यसअघि नै सहयोग पाइसकेको छ । यद्यपि यो सहयोग कति हो र कस्तो हो भन्ने विषयमा उनले केही बताएनन् ।







डिसी नेपाल







Facebook Comment