तालिबानका सर्वोच्च २ नेता जिउँदो भएकोमै सस्पेन्स, प्रवक्ता पनि प्रश्नसँग जोगिन थाले
काठमाडौं। तालिबानले १५ अगष्टमा अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेसँगै देशको शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । एक हप्ता पहिले सरकारको पनि घोषणा गरिएको छ । यो सरकारको शपथ ग्रहण हुन्छ वा हुँदैन, हुने भए कहिले र कसरी हुन्छ ? यस्ता कैयौं प्रश्नहरु उठिरहेका छन् । योभन्दा पनि ठूलो प्रश्न हो तालिबानका सर्वोच्च नेताहरु कहाँ छन् र उनीहरु सार्वजनिक किन भइरहेका छैनन् ?
तालिबानले आफ्ना सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुंदजादालाई सरकारको पनि सर्वोच्च नेता घोषित गरेको थियो । संगठनका संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री घोषणा गरेको थियो । तर, यी दुवै अहिले कतै देखिएका छैनन् । मुल्ला बरादरले २ दिन पहिले ३९ सेकेण्डको एक कथित अडियो टेपको माध्यमबाट आफू स्वस्थ भएको दावी गरेका थिए । अब यो टेपमाथि पनि प्रश्न उठ्न थालेको छ ।
सीएनएनले तालिबानभित्र जारी संघर्षका विषयमा एक रिपोर्ट प्रकाशित गरेको छ । यो रिपोर्टका अनुसार आम रुपमा कुनै पनि देशमा सरकारको घोषणा भएसँगै नेताहरु संसारको अगाडि आउँछन् । उनीहरु मिडियासँग कुराकानी गर्छन् तर अफगानिस्तानमा यस्तो भइरहेको छैन । मानिसहरु तालिबान नेता कहाँ छन् भन्ने जान्न चाहन्छन् । उनीहरु कहाँ छन् र किन सार्वजनिक भइरहेका छैनन् भन्ने चासोको विषय बनेको छ । तालिबानी प्रवक्ता पनि यस विषयमा सोधिएका प्रश्न टार्न खोज्टज् र जवाफ दिइहाले पनि निकै कमजोर हुन्छन् ।
२ दिन पहिले तालिबानका प्रवक्ता सुहेल शाहीनले मुल्ला बरादरको एउटा अडियो टेप जारी गरेका थिए । टेप जारी गर्दै उनले बरादर स्वस्थ र सुरक्षित भएको बताएका थिए । अब यो टेपको गुणस्तर र पृष्ठभूमिलाई लिएर प्रश्न उठ्न थालेका छन् । बाहिर अनुमान त यो पनि गरिएको छ कि तालिबान सरकारमा सहभागी हक्कानी नेटवर्कसँगको झडपमा मुल्ला बरादर मारिइसकेका छन् वा गम्भीर रुपले घाइते छन् । तालिबान र हक्कानी नेटवर्कबीच यो झडप सरकार घोषणाको ठिक पहिले भएको दावी गरिएको छ । बयान पनि मुल्लाका सहायकले जारी गरेका थिए र क्लिप केवल ३९ सेकेण्डको थियो ।
आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादाको बारेमा तालिबानले भनेको थियो ‘सुप्रिम लिडर अखुंदजादा छिटै संसारको अगाडि आउनुहुनेछ ।’ १५ दिन पहिले यो बयान दिइए पनि अखुंदजादा अझै देखिएका छैनन् । रिपोर्टका अनुसार अखुंदजादा पनि या त मारिइसकेका छन् वा गम्भीर रुपले बिरामी छन् । यदि यस्तो नभए उनी किन सार्वजनिक भएनन् । कतारको राजधानी दोहामा पनि उनको अत्तोपत्तो थिएन । अखुंदजादा २०१६ मा तालिबान प्रमुख बनेका थिए । त्यसपछि उनको बयान कुनै पनि रुपमा आएको छैन । गत वर्ष उनी निकै बिरामी भएको र उनको पाकिस्तानको पेशावरमा मृत्यु भएको रिपोर्ट आएको थियो ।
अमेरिका र तालिबानबीच सम्झौता कतारको राजधानी दोहामा भएको थियो । मुल्ला बरादरले तालिबानको प्रतिनिधित्व गरेका थिए । केही समय अघिसम्म उनी नै प्रधानमन्त्री बन्ने विश्वास गरिएको थियो तर यस्तो भएन । हसन अखुंदलाई प्रधानमन्त्री बनाइयो । अहिले तालिबानमाथि सबैभन्दा धेरै प्रभाव कतारको छ । कतारका विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानी आइतबार काबुल पुगेका छन् । तालिबानको दावीअनुसार उनले हिब्तुल्लाह अखुंदजादासँग कान्दाहारमा भेट गरेका थिए तर यो भेटको कुनै तस्वीर सार्वजनिक गरिएन । सबेभन्दा महत्वपूर्ण कुरा तालिबान प्रवक्ताले यो भेटघाटको पुष्टि समेत गरेनन् जबकि कतारले यात्राको आधिकारिक जानकारी दिएको थियो ।
तालिबानबारे नजिकबाट निगरानी गरिरहेका पाकिस्तानी पत्रकार आजाद सैयद भन्छन् ‘धेरैजसो तालिबानी नेता र खास गरी हक्कानी नेटवर्ककका नेताहरु वान्टेड छन् । उनीहरुलाई दुश्मनले जुनसुकै निशाना बनाउन सक्छ भन्ने डर छ । त्यसैले उनीहरु बाहिर आउँदैनन् ।’ त्यसो त तालिबान कुरा लुकाउन सिपालु छ । तालिबानका संस्थापक प्रमुख मुल्ला उमरलाई तालिबानले २०१३ को सुरुवातमै मारेको थियो तर तालिबानले त्यो वर्षको अन्त्यमा मात्र यसको जानकारी दिएको थियो । तालिबान नेतृत्वलाई लाग्छ कि नेताको मृत्युको खबरले उनीहरुको संगठन टुट्न सक्छ र लडाकूहरु अन्य आतंकवादी गुटमा जान सक्छन् ।’







डिसी नेपाल







Facebook Comment