बिहारका स्कुले बालकको खातामा अचानक ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएपछि…

डिसी नेपाल
३१ भदौ २०७८ ११:१९
4.1k
Shares

काठमाडौं। भारतको बिहारका २ जना स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको पाइएपछि सबै चकित परेका छन् । बिहारको कटिहारमा यी स्कुले बालकको खातामा यति धेरै रकम देखेपछि ती छात्रहरुका साथै बैंक अधिकारीहरु पनि चकित परे । यो कुरा त्यस क्षेत्रमा फैलिएपछि अरु मानिसहरुले पनि आफ्नो खाता चेक गर्न थाले । त्यसपछि बैंकमा खाता चेक गर्ने मानिसहरुको लाइन लाग्यो ।

हिन्दूस्तान दैनिकलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार यी दुई बालक स्कुल पोसाकको लागि बिहार सरकारले बैंक खातामा पठाइदिने रकमबारे जानकारी लिनको लागि आजमनगर थाना क्षेत्रको पस्तियाँ गाउँको एसबीआइ बैंकको शाखामा गएका थिए । यी दुईले बैंकमा गएर आफ्नो खाताको जानकारी मागेपछि उनीहरुको खातामा यति धेरै रकम जम्मा भएको खुलासा भएको हो ।

रिपोर्टका अनुसार यी दुईको बैंक खातामा ९ अर्ब ६० करोड रुपैयाँ आएको थियो । दुई छात्रमध्ये एक गुरुचन्द्रको खातामा ६० करोड रुपैयाँ जम्मा भएको थियो भने असित कुमारको खातामा ९ अर्ब रुपैयाँ जम्मा भएको थियो । यो सुनेर यी दुई छात्र, उनीहरुको आसपास भएका सेवाग्राहीसहित बैंकका कर्मचारी पनि चकित परेका थिए । यही बीचमा बैंकका म्यानेजरले यसबारे जानकारी पाएपछि दुवै खाताको भुक्तानी रोकिदिएका छन् । उनका अनुसार यस विषयमा जाँच भइरहेको छ । बैंकका बरिष्ठ अधिकारीलाई यसबारे जानकारी दिइसकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *