‘अशरफ गनी भागेपछि अफगानिस्तानमा हाम्रो योजना पूरै असफल भयो’
काठमाडौं। अमेरिकाले अफगानिस्तानमा तालिबानसँग राजनीतिक समाधानको लागि जुन वार्ताको सुरुवात गरेको थियो त्यसमा जल्मय खलीलजादलाई विशेष प्रतिनिधि बनाएको थियो । अमेरिकी सैनिकले अफगानिस्तान छोडेपछि खलीलजादले फाइनान्सियल टाइम्सलाई पहिलो अन्तरवार्ता दिएका छन् । यो अन्तरवार्तामा खलीलजादले यदि अफगानी राष्ट्रपति अशरफ गनी देश छाडेर नभागेको भए स्थिति अर्कै हुने बताएका छन् ।
खलीलजादका अनुसार तालिबानसँग अन्तिम मिनेटमा जुन सम्झौतामा सहमति भएको थियो त्यो अशरफ गनी भागेपछि पूरै असफल भयो । सम्झौता अनुसार इस्लामी अतिवादीहरुबाट काबुललाई अलग राख्नुपर्ने थियो र राजनीतिक हस्तान्तरणको कुरा भइरहेको थियो । खलीलजादलाई २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग वार्ताको लागि विशेष प्रतिनिधि नियुक्त गरेका थिए ।
खलीलजादका अनुसार योजनाअनुसार गनी कतारमा कुनै सम्झौतामा पुग्दासम्मको लागि राष्ट्रपति पदमा कायम रहनुपर्ने थियो । यहाँसम्म कि तालिबान काबुलको ढोकासम्म नै पुगेको अवस्थमा पनि योजना यही थियो । गलीलजादका अनुसार १५ अगष्टमा गनी भागेपछि सुरक्षा व्यवस्थामा खालीपन आयो र यसका कारण तालिबानलाई काबुलसम्म आउन कुनै कठिनाइ भएन ।
यसको परिणामस्वरुप अमेरिकाले हतारहतार त्यहाँबाट मानिसहरु निकाल्नुपर्यो र दोहामा सुरु भएको वार्ता पनि अन्त्य भयो । खलीलजादले अन्तरवार्तामा भने ‘हामीले तालिबानसँग एउटा सम्झौता सुरक्षित राखेका थियौं कि उनहिरु काबुलमा आउने छैनन् । मलाई अलिकति पनि यसको आभास थिएन कि गनी अफगानिस्तान छोड्नेवाला छन् ।’
खलीलजादको यो बयानले प्रस्ट पारेको छ कि काबुलमा तालिबानको नियन्त्रणपछि कसरी अमेरिकी योजना नराम्रोसँग पछारियो । यही हप्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकी सिनेटरहरुलाई भनेका थिए कि उनलाई राष्ट्रपति अशरफ गनीले देश छोड्नुभन्दा पहिले आश्वासन दिएका थिए कि उनी अमेरिकाको योजना अनुसार नै काम गर्नेछन् ।
यसअघि एन्टोनी ब्लिंकनले अफगानिस्तानको टोलो न्युजलाई दिएको अन्तरवार्तामा आफूलाई गनीले देश छोडेको बारेमा कुनै जानकारी नभएको बताएका थिए । टोलो न्युजका लोतफुल्लाहनजफिजादाले ब्लिंकनसँग सोधेका थिए ‘के तपाइँले राष्ट्रपति गनीलाई देशबाट भाग्न सहयोग गर्नुभएको हो ?’
जवाफमा ब्लिंकनले भनेका थिए ‘होइन । सत्य त यो हो कि म उनीसँग फोनमा कुरा गरिरहेको थिएँ । जुन दिन राष्ट्रपति गनीले अफगानिस्तान छोडे त्यसको एक दिन पहिले उनीसँग फोनमा कुरा भएको थियो । हाम्रो कुराकानी दोहामा जारी सत्ता हस्तान्तरणका विषयमा भइरहेको वार्ताका विषयमा भएको थियो ।’
‘उनले मसँग भनेका थिए कि यदि यो वार्ता सफल भएन भने उनी अन्तिम समयसम्म लड्नेछन् । त्यसपछि २४ घण्टाभित्र नै उनले देश छोडिदिए । मलाई उनको योजनाबारे केही पनि थाहा थिएन र हामीले उनलाई भाग्नको लागि केही व्यवस्था गरेका थियौं ।’
खलीदजादले भने ‘अशरफ गनी गायब भएपछि काबुलमा सुरक्षा बल तितरबितर भइसकेको थियो । गनी गएपछि कानुन व्यवस्थाको प्रश्न गहिरिएको थियो । तालिबानले सोध्यो कि के हामी काबुलको सुरक्षा व्यवस्थाको जिम्मेवारी लिन जाँदैछौं ? हामीले भन्यौं कि होइन काबुलको सुरक्षा व्यवस्थाको जिम्मेवारी हामी लिन गइरहेका छैनौं ।’ खलीदजादका अनुसार उनले त्यस दिन अमेरिकी क्षेत्रीय सैन्य कमाण्डर फ्र्यांक म्याकेन्जी र तालिबानका एक बरिष्ठ नेतासँग दोहामा बैठक गरेका थिए ।
खलीदजादले अमेरिकाले रणनीतिअनुसार १५ अगष्टमा काबुलको राष्ट्रपति भवनमा तालिबानलाई आउन दिएको भन्ने दावी अस्वीकार गरे । उनले भने ‘हामीले यस्तो कुनै संकेत दिएका थिएनौं । हामीले जे भनेका छौं, अमेरिकी सेनाको मिशन त्यही थियो ।’
तालिबानसँग अमेरिकाको जुन वार्ता चसलरहेको थियो त्यसमा गनी अफगानिस्तानमा भविष्यमा बन्ने सरकारको हिस्सा थिएनन् । तालिबानले अमेरिकाको अगाडि गनीको राजीनामाको शर्त पहिल्यै राखेको थियो । गनीले १८ अगष्टमा फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले भनेका थिए कि उनको जीवन खतरामा थियो त्यसैले उनले देश छोड्नुपर्यो ।
७० वर्षका खलीलजाद रिपब्लिकन हुन् । तालिबानसँगको वार्तामा उनको जे भूमिका रह्यो त्यसको आलोचना हुन्छ । आलोचकहरुका अनुसार पछिल्लो ३ वर्षमा खलीलजादको रणनीति कहीँ पनि काम लागेन र तालिबान निर्वाचित सरकारलाई विस्थापित गरेर आफू सत्तामा स्थापित भयो । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२० मा तालिबानसँग भएको सम्झौताको आलोचना गरेका थिए । खलीलजाद मूलतः अफगानी हुन् । यस्तोमा बाइडेन राष्ट्रपति भएपछि उनलाई विशेष दूत पदबाट हटाइने अपेक्षा गरिएको थियो ।
तर, बाइडेनले उनलाई हटाएनन् । खलीलजाद स्वयंले पनि आफू बाइडेन आएपछि हट्ने तयारीमा भएको बताएका थिएन । फाइनान्सियल टाइम्सका अनुसार खलीलजादसँग एक पटक अशरफ गनीले भेट्न पनि अस्वीकार गरेका थिए । खलीलजाद अफगानिस्तानमा अमेरिकाका राजदूत रहेका छन् र उनले यस क्षेत्रमा २० वर्षसम्म काम गरेका छन् ।
उनले २०२० मा भएको सम्झौताका लागि आफूभन्दा अगाडिका अधिकारीमाथि आरोप लगाएका छन् । उनले भनेका छन् कि २०१८ मा उनलाई यसकारण नियुक्त गरियो किनकि अमेरिकाले जे हासिल गर्न चाहन्थ्यो त्यो पाउन सकिएको थिएन । खलीलजादले भने ‘मलाई धेरै अपेक्षा थियो तर म जे गर्न सक्थें त्यो गरेको छु । मैले परिस्थितिको हिसाबले कुराहरु सुल्झाउने प्रयास गरें ।’
अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीको बचाउ गर्दै राष्ट्रपति जो बाइडेनले यही महिना भनेका थिए कि फेब्रुअरी २०२० मा ट्रम्प प्रशासनले तालिबानसँग सैनिक फिर्तीका विषयमा सम्झौता गरेको थियो । यो सम्झौतापछि उनीसँग २ विकल्प थिए या त यो सम्झौतालाई मान्ने वा युद्ध जारी राख्नको लागि अरु सैनिक पठाउने ।
बाइडेनले भनेका थिए कि उनी एक अन्त्यहीन लडाइँलाई जारी राख्न चाहँदैनथे र त्यहाँबाट बाहिर निस्किने योजनालाई पर सारिरहन पनि सक्दैनथे । बाइडेनले भनेका थिए ‘अमेरिकाले अफगानिस्तानमा आक्रमण यसकारण गरेको थिएन कि त्यहाँ तालिबानको शासन थियो बरु यसकारण गरेको थियो किनकि ११ सेप्टेम्बरको आक्रमण अफगानिस्तानबाट भएको थियो ।’
जुलाइ महिनाको सुरुवातमा बाइडेनले भनेका थिए कि अमेरिका अफगानिस्तानमा राष्ट्र निर्माणको लागि गएको थिएन । अमेरिकाको प्रारम्भिक उद्देश्य अल कायदालाई नष्ट गर्ने र ओसामा बिन लादेनलाई पक्राउ गर्ने वा मार्ने थियो । बाइडेनको तर्क यही थियो कि तालिबान अमेरिकाको मुख्य दुश्मन थिएन र उसलाई हराउनु पनि कुनै प्राथमिकता थिएन ।







डिसी नेपाल







Facebook Comment