बालुवाटार प्रकरणमा मलाई झुट्टा मुद्दा लगाइयो : गच्छदार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको जग्गा प्रकरणमा आफूलाई झुट्टा मुद्दा लगाइएको बताएका छन्। काठमाडौंमा आज पत्रकारसम्मेलन गर्दै गच्छदारले आफू दोषी नरहेको दावी गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजानेसम्मको काममात्र आफूले गरेको गच्छदारको भनाइ थियो।
उनले भने, ‘प्रम निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुभन्दा पहिले नै सुरू भएको हो। तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ।’
मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत भएको गच्छदारको भनाइ छ। ‘मलाई मुद्दा लगाएर कसैकसैलाई चोख्याउने काम भएको छ,’ उनले भने।
सरकारको गुरुयोजना कार्यान्वयन गर्न आफूले विभागीय भूमिका निर्वाह गरेको गच्छदारको भनाइ छ।
मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको गच्छदारको भनाइ छ। उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोपसमेत लगाएका छन्।
‘लोकतन्त्रवादी नागरिकका रूपमा स्वतन्त्र न्यायालयप्रतिको मेरो विश्वास टुटेको छैन,’ गच्छदारले भने, ‘मैले न्याय पाउँछु।’







डिसी नेपाल








Facebook Comment