पूर्वसेनापतिहरुको दिल्ली सम्मेलनमा के भयो? नेपालका तर्फबाट उठाइयो कालापानीको विषय

डिसी नेपाल
७ असोज २०७८ १०:३५
6.0k
Shares

काठमाडौं। भूतपूर्व प्रधानसेनापतिहरुको भारतको राजधानी नयाँ दिल्लीमा ३ दिनसम्म चलेको सम्मेलनमा नेपालका पूर्वसेनापतिका तर्फबाट कालापानीलगायतको सीमा समस्या चाँडो समाधान हुनुपर्ने कुरा उठाइएको छ।

सेप्टेम्बर १६ देखि १८ सम्म फर्मर आर्मी चिफ कन्क्लेभ नाम दिएर दिल्लीमा सम्पन्न भएको सो कार्यक्रममा नेपाली सेनापतिको तर्फबाट उपस्थितमध्येका सिनियर पूर्वप्रधानसेनापति प्यारजंग थापाले छोटो भनाइ राखेका थिए।

सैनिक मुख्यालय स्रोतका अनुसार, पूर्वप्रधानसेनापति थापाले नेपाल र भारतका बीचमा समस्याहरु दीर्घकालसम्म रहनु नहुने र ती समयमै समाधान गर्दै जानुपर्ने भनाइ राख्ने क्रममा दुई देशका बीच रहेका कालापानीलगायतका सीमा समस्याहरुको सकेसम्म चाँडो समाधान गर्नुपर्ने धारणा राखेका थिए।

भारतीय सेनाका अधिकांश जीवित पूर्वसेनापतिहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपालका ८ जना पूर्व सेनापतिहरुलाई निम्ता गरिएको भए पनि प्यारजंग थापा, गौरवसमेशर राणा र राजेन्द्र क्षेत्रीले मात्र सहभागिता जनाएका थिए।

आँखाको उपचारको क्रममा रहेकाले प्रज्वल्लसमशेर राणाले उपस्थिति जनाउन सकेका थिएनन् भने धर्मपालबरसिंह थापाले पनि स्वास्थ्यका कारण उपस्थिति जनाउन नसक्ने जानकारी गराएका थिए। थापा दिल्लीमै भए पनि कार्यक्रममा सहभागी नभएको सैनिक स्रोतले जनायो।

त्यसैगरी पूर्वसेनापति रुक्मांगत कटवाल अमेरिका भ्रमणमा रहेकोले कार्यक्रममा सहभागी थिएनन् भने छत्रमानसिंह गुरुङ र पूर्णचन्द्र थापाले असमर्थता जनाएका थिए। भारतका तर्फबाट ८ जना पूर्व सेना प्रमुखहरु सहभागी थिए।

यसमध्ये हालको सत्तारुढ दल बीजेपीमा लागेर सत्तामा रहेका भीके सिंह पनि सहभागी थिए तर उनी अन्तिम दिनको डिनरमा भने सहभागी भएनन्। आफ्नो धारणा राख्ने क्रममा भीके सिंहले नेपाल र भारतका बीचमा साझा समस्याका विषयहरुलाई विदेश मन्त्रालयको औपचारिक च्यानलबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरभणे, चीफ अफ डिफेन्स स्टाफ विपीन रावतले समेत आआफ्नो धारणा राखेका थिए। बोल्नेक्रममा अधिकांशले नेपाल र भारतका बीचको परम्परागत सम्बन्धलाई मूल आधार बनाएका सैनिक मुख्यालय स्रोतले जनायो। “अरुभन्दा फरक भीके सिंहको थियो, उनले अलि राजनीतिक भाषण गरेका रहेछन्”, स्रोतले भन्यो।

भारतीय सेनाले सबै पूर्वसेनापतिहरुलाई सम्मान स्वरुप चारतारा भएको गाडी नै उपलब्ध गराएको थियो। चारतारा भएको गाडी सेनापतिका लागि प्रयोग गर्ने गरिन्छ।

भारतीय सैनिक शहीदहरुको सम्मानमा बनाइएको मेमोरियलमा सम्मान अर्पण गर्ने, ओलम्पियनहरुसँग भेट गर्ने र आपसी हितका केही कुरा गर्नेमा नै पूर्वचीफहरुको यो कन्क्लेभ केन्द्रीत भएको थियो।

यसवाहेक भारतीय पूर्वचीफहरुको एकदिन छुट्टै सम्मेलन चलेको थियो त्यसमा भने सैनिक सामाग्री उत्पादकहरुसँग छलफल गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.