पाकिस्तानमा रहेको न्यूजिल्याण्डको क्रिकेट टिमलाई भारतबाट धम्की !

डिसी नेपाल
७ असोज २०७८ ११:२१
3.2k
Shares

काठमाडौं। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले न्यूजिल्याण्डको क्रिकेट टिमलाई जुन डिभाइसबाट धम्की पठाइएको थियो त्यो डिभाइसको सम्बन्ध भारतसँग भएको आरोप लगाएका छन् । इस्लामाबादमा बुधबार एक पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

फवाद चौधरीले भने ‘यो मामिला त्यतिबेला सुरु भयो जब कसैले तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)का चरमपन्थी एहसुल्लाह एहसान भएको दावी गर्दै एउटा फर्जी पोस्ट गरे ।’ फवाद चौधरीका अनुसार अगष्टमा एहसानको नामबाट एक फर्जी पोस्ट गरिएको थियो जसमा न्यूजिल्याण्ड सरकारलाई पाकिस्तानमा खेलाडीहरुलाई निशाना बनाउन सकिने भन्दै आफ्नो टिम पाकिस्तान नपठाउन भनिएको थियो ।

चौधरीका अनुसार यो पोस्टपछि भारतीय समाचार वेबसाइट द सन्डे गार्डियनका ब्युरो चिफ अभिनन्दन मिश्राले एउटा समाचार प्रकाशित गरेका थिए जसमा न्यूजिल्याण्ड टिममाथि पाकिस्तानमा आतंकवादी आक्रमण हुन सक्ने दावी गरिएको थियो । फवाद चौधरीले भने ‘रोचक कुरा त के भने अभिनन्दन मिश्राको अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहसँग बलियो सम्बन्ध छ ।’

चौधरीका अनुसार २४ अगष्टमा न्यूजिल्याण्डका ओपनर मार्टिन गुप्टिलकी पत्नीलाई एउटा धम्कीपूर्ण इमेल पठाइएको थियो । फवाद चोधरीका अनुसार जाँचमा धम्की पठाउने इमेलबाट कुनै पनि सामाजिक संजालमा खाता नबनाइएको र त्यो आइडीबाट पठाइएको यो एकमात्र इमेल भएको खुलासा भयो । चौधरीका अनुसार यो इमेल प्रोटोनमेल नामको एक सुरक्षित सेवामार्फत पठाइएको थियो । चौधरीले यो इमेलका बारेमा थप अनुसन्धानको लागि इन्टरपोलसँग सहयोग मागिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.