अफगानिस्तानले टि–२० विश्वकप खेल्न पाउनेमा आशंका, आइसीसीले प्रतिबन्ध लगाउन सक्ने
काठमाडौं। २०१४ को टि–२० विश्वकपमा एसोसिएट राष्ट्रको रुपमा खेलेर त्यसको ३ वर्षमै टेस्ट राष्ट्रको मान्यता पाएको र २०२१ को टि–२० विश्वकपमा सिधै सुपर १२ को चरणमा पुगिसकेको देश अफगानिस्तान आउँदो अक्टोबरमा हुने टि–२० विश्वकप खेल्न पाउने कि नपाउने भन्ने कुरा नै शंकाको घेरामा परेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भइसकेको छ । यस्तोमा अफगानिस्तान विश्वकप नै खेल्न नपाउने स्थिति आउन सक्ने जोखिम बढेको छ ।
तालिबानको नियन्त्रणपछि अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष अधिकारीहरुलाई पदबाट हटाइएको छ । महिलाहरुलाई क्रिकेट खेल्न प्रतिबन्ध लगाइसकिएको छ । अफगानिस्तान क्रिकेट बोर्डका कार्यकारी निर्देशक हमिद शिनवारीलाई पदबाट हटाएर उनको ठाउँमा नसीबुल्लाह हक्कानीलाई नियुक्त गरिएको छ । यस्तोमा यदि अफगानिस्तानको टिम तालिबानको झण्डामुनि खेल्यो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी०ले टिममाथि प्रतिबनध लगाउन सक्छ ।
आइसीसीका एक अधिकारीले समाचार एजेन्सी पीटिआइलाई बताएअनुसार अफगानिस्तान टि–२० विश्वकप खेल्ने विषयमा अहिले नै केही भन्नु हतार हुनेछ । अफगानिस्तानको अवस्थामाथि निगरानी भइरहेको छ । सामान्य रुपमा आइसीसीले कुनै क्रिकेट बोर्डलाई प्रतिबन्ध लगायो भने यसको असर खेलाडीमा नपरोस् भन्ने सुनिश्चित गर्छ । यसमा खेलाडीको कुनै गल्ती हुँदैन ।
आइसीसीको नियमअनुसार खेलाडीहरुले पहिल्यै बताउनुपर्छ कि उनीहरु कुन ब्यानरमुनि खेल्न चाहन्छन् । यदि अफगानिस्तानका क्रिकेटरले तालिबानको झण्डामुनि खेल्ने बताए भने उनीहरुले विरोधको सामना गर्नुपर्नेछ किनकि पाकिस्तानबाहेक अन्य देश यसको पक्षमा हुने छैनन् । यस्तोमा आइसीसीले केवल अफगानिस्तानलाई खेल्न प्रतिबन्ध लगाउने मात्रै होइन सिधै सुपर १२ चरणमा पुगेका सदस्यको सूचीबाट पनि हटाउन सक्छ ।
टि–२० विश्वकप १७ अक्टोबरदेखि युएइ र ओमनमा सुरु हुनेछ । फाइनल १४ नोभेम्बरमा खेलिनेछ । यसको आयोजना भारतमा हुने तय थियो तर कोरोना महामारीका कारण स्थानान्तर गर्नु परेको थियो । अब विश्वकप युएइ र ओमनमा भारतीय क्रिकेट बोर्डको ब्यानर मुनि आयोजना गरिँदैछ । अफगानिस्तान, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका इङल्याण्ड र वेष्ट इण्डिज गरी ८ टिम मुख्य ड्रमा पुगिसकेका छन् । अफगानिस्तान ग्रुप बीमा भारत, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नुपर्नेछ ।
अफगानिस्तानमा पहिल्यै तालिबानले महिला क्रिकेटमा प्रतिबन्ध लगाएर आइसीसीको नियम उल्लंघन गरिसकेको छ । आइसीसीको नियमअनुसार सदस्य देशको पुरुषसँग महिला टिम पनि हुनु अनिवार्य हुन्छ । अफगानिस्तानमा महिला क्रिकेटमा प्रतिबन्ध लगाइएसँगै आइसीसीका अन्य सदस्य देशले अफगानिस्तानमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका छन् । अस्ट्रेलिया क्रिकेट बोर्डले अफगानिस्तानसँगको टेस्ट रद्द गर्ने चेतावनी दिइसकेको छ ।







डिसी नेपाल







Facebook Comment