सत्तामा पुगेपछि ओलीले आफू नै राज्य भएको सोच्नु भयो : राजेन्द्र पाण्डे उपाध्यक्ष, एकीकृत समाजवादी

डिसी नेपाल
१० असोज २०७८ ७:०७
204
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले केपी शर्मा ओली पक्षीय र माधव नेपाल पक्षीय गरी दुई टुक्रा भएको छ। दुई पक्षीय पार्टीमध्ये पार्टी फुटेर बनेको माधवपक्षीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र पाण्डेसँग डिसी नेपालले कम्युनिष्ट पार्टीभित्रका विविध विवादित राजनीतिक कुरालाई उठान गरेको छ।

विशेषतः किन र के कारणले एमाले दुई चिरा भयो त?, भन्ने विषयभित्र केन्द्रित भएर ‘नुन चिनी पानी अमेरिका’का परिकल्पनाकार अर्जुन दाहालले उनै केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री पाण्डेसँग गरेको कुराकानीः

 सुरुमै छुच्चो प्रश्न गरे है, यहाँहरुले बाक्लो दाल खान थाल्नु भएको छ भनेर सोधिराख्नु परेन, त्यसको स्वाद चाहिँ कस्तो छ नि ?

तपाईंले भन्न खोजेको केही हदसम्म सत्य पनि हो। ठूलो घर छोडेर छाप्रो मै भएपनि छुट्टिएर बस्न जानेलाई बाक्लो दाल होइन छुट्टिएर बसेको बेलामा नुन पानी भेट्न मात्रै पनि गाह्रो पर्छ, यो सुरुवातको बेलामा। नुन पानी मात्रै भएपनि खाएर नयाँ ढंगबाट अगाडि बढ्नु पर्छ भनेर सोचेका छौं।

बनिबनाउ पार्टी थियो, देश विदेशमा पनि हाम्रै पार्टीको प्रभाव थियो। १७४ जनाको संसद थियो। त्यत्रो शक्तिशाली दुई तिहाइ पुग्नलाई जम्मा ८ सिट सांसद थपे पुग्थ्यो। निर्वाचनको विधिबाट २७५ जनाको प्रतिनिधिसभामा १७४ हुनु भनेको अर्थात् अहिलेको समावेशी समानुपातिक प्रक्रियाबाट पुग्नु भनेको त्यो चानचुने कुरा थिएन।यो सबै कुरालाई पानीमा मिलाउने काम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भयो।

किसान र मजदुरको प्रतिनिधि हो है हामी भनेर निर्माण गरेको कम्युनिष्ट पार्टीलाई उहाँले सत्तामा पुगेपछि जनताको बारेमा सोच्नु भन्दा म नै राज्य हो भन्ने ढंगले सोच्नु भयो । र, दुई तिहाई छेउमा पुगेको सत्तालाई फेरि दुई तिहाई ल्याउछु भन्दै उहाँ जानुभयो। आफ्नो पार्टीभित्र फरक, नयाँ विधिपद्धती विचार राख्ने प्रस्तावलाई उहाँले बढार्ने योजना गर्नुभयो।

४६/४७ वर्ष पसिना बगाएर सिर्जना गरेको पार्टी छोडेर जानु बाध्यता थियो कि, कसैको सिकार हुनुभएको हो?

यो बाध्यकारी स्थिति थियो। एउटा बामपन्थी विचार बोकेर आएको पार्टीले ल्याउने बजेट सर्वाहारा श्रमजीवि जनता र राष्ट्रहितको बजेट थिएन। ठूला घराना, दलाल पूँजीपतिहितका निम्ति उहाँहरुले गर्न सक्नेसम्म गर्नु भयो। उहाँहरुले जाँदाजाँदै पनि गरेर जानु भएको छ। यसविरुद्ध हामीले कतिपय ठाउँमा बोल्यौं भने कतिपय ठाउँमा हामी नाजवाफ हुनुपथ्र्यो।

मेरो पार्टी कम्युनिष्ट पार्टीको ट्रेडमार्क मात्रै रह्यो, त्यो कम्युनिष्टै रहेन। जुन उद्देश्यले पार्टी निर्माण गरेका थियौं त्यसले कम्युनिष्ट आन्दोलन अगाडि बढाउने कामै गरेन भने त्यसलाई मेरो कम्युनिष्ट पार्टी हो भनेर समातेर बस्नु बेकार हो। मेरो रगत पसिना खेर गयो। अनि म जस्ता नेता कार्यकर्ताले विद्रोह गरेका हुन्, विभाजन होइन।

म पनि यो पार्टीको २०३२ सालकै सदस्य हो, त्यतिबेला म १७–१८ वर्षको केटा थिए। १४ वर्षको जेल सजाय पाएको थिए र वर्षौ जेल बसे। म जन्मेको धादिङको तीनवटै क्षेत्र एमालेलाई जिताउने स्थितिसम्म बनाएँ। देशव्यापी रुपमा भूमिका निभाएँ।

म एक्लो मान्छे पञ्चायतविरुद्ध चुनाव लडेर सभापति जितेँ। म सभापति हुँदा पनि हत्कडी भिरेरै जेल गएँ। म मारिन सक्थेँ। मैले त्यतिबेला यो लोकतन्त्र ल्याउन खेलेको भूमिका थियो।

 ज्यान धरापमा राखेर बनाउनु भएको पार्टीलाई अहिले आएर ओलीले भागबन्डमा कम गरे, राम्रो बजेट ल्याएनन् जस्ता विषयमा पार्टी विभाजन गरेर आफ्नो भविष्य पनि अन्योलमा, सिंगो कम्युनिष्टलाई धरापमा र नेपालीहरुको चाहनालाई प्रश्नवाचक चिन्हमा राख्नु कत्तिको उपयुक्त होला?

मेरो पार्टी कम्युनिष्ट पार्टीको ट्रेडमार्क मात्रै रह्यो, त्यो कम्युनिष्टै रहेन। जुन उद्देश्यले पार्टी निर्माण गरेका थियौं त्यसले कम्युनिष्ट आन्दोलन अगाडि बढाउने कामै गरेन भने त्यसलाई मेरो कम्युनिष्ट पार्टी हो भनेर समातेर बस्नु बेकार हो। मेरो रगत पसिना खेर गयो। अनि म जस्ता नेता कार्यकर्ताले विद्रोह गरेका हुन्, विभाजन होइन।

मनमोहन नेतृत्वको पार्टी हुँदादेखि नै पार्टीभित्र विकृतिका विरुद्धमा पार्टीभित्रकै कम्युनिष्ट नेताहरु पुष्पलाल, तुलसीलाल लगायतले विद्रोह गरे। उहाँहरुले विद्रोह गरेर कम्युनिष्ट पार्टीलाई बचाएर आउनु भयो।

त्यसकारण यो हामीले विद्रोह गरेका हौं, विभाजन होइन। सही विचारको लागि लडाइ लड्न आट गरेका हौं। र यतिबेला देख्दा हाम्रो शक्ति सानो होला तर विचार सही भयो भने त्यो शक्ति बढाउनलाई धेरै दिन लाग्दैन।

तपाई नेताहरुले नै पुरानो कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट बनाउन सक्नु भएन र अब नयाँ पार्टीलाई कम्युनिष्ट पार्टी बनाउनु हुन्छ भनेर कसरी विश्वास गर्ने?

यो संसारभरिका नेपाली र अन्य राजनीतिक व्यक्तिहरुले पनि प्रश्न गर्ने विषय हो। प्रचण्डले दुई वटा भरुवा बन्दुक लिएर रोल्पामा जनयुद्ध सुरु गर्नु भयो। जाबो भरुवा बन्दुक लिएर यत्रो निरंकुश व्यवस्थालाई ढाल्न सकिन्छ भनेर हामी नै भन्थ्यौं। तर त्यही भरुवा बन्दुर यस्तो स्थितिमा पुग्यो, हामीले सम्झौता नगरी सुख पाएनौं।

त्यतिबेला हामी मूलधारका राजनीति पार्टीहरु नै माओवादीले उठाएको संविधानसभाको पक्षमा थिएनौं। र, १७ हजार मान्छेको बलिदानपश्चात हामी संविधानसभाको निर्वाचन गर्न बाध्य भयौं। नयाँ राजनीतिक परिस्थिति आयो । शान्ति प्रक्रियामा लग्यौं।

त्यसैले अहिले सुरुवातमा तपाईंले हामीलाई भनेको प्रश्न ठिकै होला । अहिले माधवकुमार नेपाल नेतृत्वमा म प्रथम उपाध्यक्ष छु। हामीले नै यो आन्दोलनलाई अगाडि बढाउदै छौं, त्यसो हुनाले सुरुका दिनमा तपाईंले गरेजस्तै प्रश्न आउन सक्छ । तर हामीले लिने बाटो प्रष्ट छ, हामीले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका छौं।

मदन भण्डारीले राख्नुभएको जनताको बहुदलीय जनवादीको कार्यक्रमका आधारमा हामीले गणतन्त्र ल्यायौं। राजतन्त्रको अन्त्य गर्‍याैं, लोकतान्त्रिक व्यवस्था ल्यायौं, समावेशी लोकतन्त्र सुरुवात गर्‍याैं। अब हामी समाजवादको बाटोमा जानुपर्छ।

र, हाम्रो देशमा अहिलेसम्म भएका असमानताहरुलाई अन्त्य गर्ने, आर्थिक समृद्धिको बाटो खोल्ने, केवल नारामा नभएर व्यवहारमा समृद्धि ल्याउने ढंगले जाने कुरामा हामी ध्यान दिन्छौं। र, तपाईंले एक वर्षपछि मलाई यो प्रश्न गर्ने अवस्था रहँदैन।

अबको चुनावमा सूर्य चिन्हको प्रभाव परेका नेकपा एमालेका कार्यकर्ताबाट भोटको आशा गर्नु भएको छ कि या नेपाली कांग्रेस वा अन्य पार्टीबाट आकर्षण गर्छौं भन्ने योजना छ ?

निर्वाचनमा जाने दलले मतको आशा गर्ने हो। त्यो जताततैबाट आशा गर्न सकिन्छ। हामी लामो समयसम्म एमाले निर्माण गर्न लाग्यौं। हामीले अहले संगठन निर्माण पनि त्यही एमालेभित्रकै शक्तिलाई लिएर गरेका हौं। एमालेभित्रकै धेरै साथीहरुलाई यसमा समेट्छौं।

तपाईले सूर्य चिन्हको कुरा गर्नु भयो। म २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावलाई चुनाव उपयुक्त नीति लिएर लडेको मान्छे हुँ। त्यतिबेला मैले हात्ती चिन्ह लिएर चुनावमा लडेको थिएँ। पोखरामा सोमनाथ प्यासीले पाटी चिन्ह लिएर लड्नु भएको थियो।

काठमाडौमा पद्मरत्नले सूर्य नै चिन्ह लिनु भएको थियो। चितवनमा जागृत भेटुवालले छाता चिन्ह लिएर लड्नु भएको थियो। झापामा दोर्णप्रसाद आचार्यले घैला चुनाव चिन्ह लिएर लड्नु भएको थियो र जित्नु भएको थियो।

त्यस पछाडि म धादिङको सभापतिमा षड्कोण चिन्ह लिएर उठेँ र जितेँ। त्यसैले यो भनेको जनतालाई चिनाउने एउटा आधार हो। हिजो हामीले सूर्य चिन्ह टाढाबाट देख्दा पनि सजिलो आदि भएकाले राजनीतिको भन्दा पनि चिन्हको मात्रै प्रचार गरेका थियौं।
अब हामीले चाँडै नै चुनाव चिन्ह पनि लिन्छौं । सम्भवत चुनाव चिन्ह कलम लिन सक्छौं।

केपी ओलीको सेरोफेरोमा रहेका केही नेताहरु तपाईंहरुको खेमामा मन्त्री पद पाइन्छ भनेर प्रवेश गरेको देखिन्छ, उहाँहरु कम्युनिष्ट आन्दोलनलाई शुद्धाशुद्धि गर्नु पर्यो भनेर प्रवेश गरेको भनेर कसरी भन्न सकिन्छ ?

त्यता मन्त्री भएका साथीहरु पनि यता आउनु भएको छ। उहाँहरु विचारको हिसाबले त्यता काम छैन भनेरै यता आउनु भएको हो। कतिपय साथीहरु तपाईले भने जस्तो पनि हुन सक्छन्। यो राजनीतिक यात्रामा सबैले त्यागको मात्रै राजनीति गरेको हुँदैन।

सबैले यो राष्ट्र परिवर्तन गर्ने सपना मात्र देखेको हुँदैन। कसैले व्यक्तिगत जीवनमा केही भूमिका पाएदेखि हुन्थ्यो भन्ने पनि सोचेका हुन्छन्। त्यसैले हामी यो सबै जातको फुलबारी हो भने झै सबैलाई समेटेर जान्छौं। तपाईले भनेको केही हदसम्म ठिकै पनि होला ।

 अहिले मन्त्रिमण्डल गठन गर्न नसकेको खास कारण चाहीँ के हो ?

अध्यादेशको पनि अलिअलि समस्या थियो। अब त्यसको समस्या समाधान भएको छ। सायद अब हामी दुई दिनभित्रमा मन्त्रीमण्डललाई पूर्णता दिन्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.