गण्डकी प्रदेशका नागरिकको आम्दानी एक हजार ५२ अमेरिकी डलर

डिसी नेपाल
१२ असोज २०७८ १०:१२
92
Shares

पोखरा। गण्डकी प्रदेशमा हाल १४ प्रतिशत निरपेक्ष गरिबी छ। २५ लाख जनसंख्या रहेको यहाँ दुई लाख नागरिक गरिबीको रेखामुनि छन्। यहाँका नागरिकको औसत आम्दानी प्रतिवर्ष एक हजार ५२ अमेरिकी डलर छ । गरिबीको रेखामुनि रहेका नागरिकलाई कम्तीमा दैनिक दुई सय रुपैयाँ आम्दानी गर्न युएनडीपीले सहयोग गर्ने बचन दिएको छ।

सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले प्रदेश सरकारसँगको साझेदारमा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने बताइन्।

सन् २०३० सम्म सबै नागरिकलाई गरिबीको रेखामुनिबाट उकास्नै पर्ने बाध्यता सरकारसँग छ । मानव विकास सूचकांकमा गण्डकीको अवस्था सन्तोषजनक रहे पनि खुसी हुनुपर्ने अवस्था भने छैन।

मुख्यमन्त्री पोखरेलले युएनडिपीको भौतिक उपस्थिति गण्डकीलाई आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनुपर्छ । मैले त्यो अपेक्षा गरेको छु,’ उनले भने, ‘त्यसका लागि डिआरआरसँग अनुरोध गर्दछु । यहीँ कार्यालय बन्यो भने काम गर्न सजिलो हुन्छ।’ युनएनडीपीले गण्डकीको पर्यटकीय विकास परियोजनामा सहयोग गर्ने जनाएको छ।

युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास कार्यक्रम प्रभावकारी बनेको छ । यो अभ्यास अन्य जिल्लामा पनि विस्तार गर्न पोखरेलले आग्रह गरे । सरकारले प्रदेशमा पहिलो पटक लगानी सम्मेलन आयोजना गर्दैछ।

आवासीय प्रतिनिधि लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलनले प्रदेशभित्र लगानीको ढोका खुल्ने र त्यो कार्यक्रममा युएनडीपी प्रत्यक्ष जोडिन चाहेको बताइन् । उनले मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यास गण्डकीले अनुशरण गर्न सक्ने सुझाव दिइन्।

पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.