एमाले विधान महाधिवेशन : १० वटा समूहलाई छलफलकाे समय चार घण्टा

डिसी नेपाल
१६ असोज २०७८ ७:२२
48
Shares

काठमाडौं। नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आज शनिबार समूहगत छलफल हुँदैछ। विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका थिए।

ती प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै १० वटा समूह बनाएको एमालेले प्रतिवेदनमाथि विमर्श गरेर पार्टी नीति तयार पार्नेछ। १० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । एमालेले ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । एक समूहमा औसत ६ सय जना छन्।

तेस्राे दिन १७ असाेजमा दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ। महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशन एमालेको पुनर्जागरण अभियान रहेको बताए। ‘आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनःस्थापित त गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ। एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ,’ उनले भने।

मुलुकमा संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको प्रथम विधान महाधिवेशन आायोजना भएको हो। एमालेले आगामी मंसिर दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरिसकेकाे छ । एमालेको २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.