मेयर ‘ठेकेदार’ले समयमै सडक कालाेपत्रे नगर्दा स्थानीयलाई सास्ती

डिसी नेपाल
१६ असोज २०७८ ११:३७
144
Shares

जाजरकोट । बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे। तर सदरमुकामस्थित पासागाड जिरो प्वाइन्टबाट कालेगाउँ चार किलोमिटर पार गर्न उनलाई सात घण्टा लाग्यो।

बुढाले बिरामीलाई गाडीले गर्दा झन बिरामी बनाएकाे बताए। सदरमुकाम भएर जाने बाटो रेडक्रस नजिकै भत्किएकाले जाजरकोट-डोल्पा सडक खण्डबाट यातायातका साधनहरू चलाउन सुरु गरिएको थियो। सो सडक स्तराेन्नतीको नाम दिएर काम थालिएको दुई वर्ष वित्तिसक्दा पनि निर्माण व्यवसायीले काममा तीव्रता नदिदा सर्वसाधारणले निकै सास्ती खेप्नु परेकाे छ।

निर्माण व्यवसायी तथा राजनीतिज्ञ कमान खड्काले निशुल्क सडक मर्मत गरेपछि अहिले जोखिम मोल्दै सो सडकमा यातायातका साधनहरु गुडिरहेका छन्। आठबीसकोट नगरपालिका रुकुम पश्चिमका नगरप्रमुख गोरखबहादुर केसीले सो सडकको स्तराेन्नती गर्ने ठेक्का लिएका छन्। लिएको जिम्मेवारी समयमा पुरा नगर्दा रुकुम पश्चिम, जाजरकोट र डोल्पाका नागरिकले निकै सास्ती खेप्नु परेकाे छ।

‘सदरमुकामको सडक भत्किएको छ, पासागाड –कालेगाउँको सडक प्रयोग नगरी रुकुम पश्चिम, पुर्वी जाजरकोट र डोल्पा जान सकिदैन वस चालक रमेश विसीले भने, ‘यो सडक दुरीका हिसाबले करिब ३० मिनेटको हो तर हामीलाई कम्तिमा सजिलै पार गर्नसमेत २ घण्टा बढी लाग्छ । पानी पर्नेबित्तिकै रातभरी सडकमै बसेको हामीसँग पीडा छ।’

सडक कालाेपत्रे गर्ने जिम्मेवारी लिएर समयमै काम नगर्दा सर्वसाधारणले निकै दुख भाेग्नु परेकाे भेरी नगरपालिका –१ का वडाध्यक्ष दीपक रानाले बताए। उनले भने, ‘ठेकेदार साथीहरू समयमा काम गर्नु हुन्न, गाली भने हामीले खानुपर्छ । सडक निर्माणको जिम्मा लिएका आठबीसकोटका नगरप्रमुख गोरखबहादुर केसीलाइ कसैले भन्ने आट सम्म गर्दैनन्।’

सडक डिभिजनका प्रमुख धुर्व झासमेत काम देखेर हैरान छन्। केसी अर्थमन्त्री जनार्दन शर्माका विश्वास पात्र मात्र होइन नातेदारसमेत पर्छन्। केसीले समयमा काम पुरा नगर्दा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले दैनिक गाली खानुपरेको छ। पूर्व मन्त्री बस्नेतकै घर भएर जाने सबै यातायातका साधनहरू पाँच मिनेटमै हिलोमा फस्ने भएकाले पहिलो निसानामा उनै बस्नेत पर्छन्। पानी परेको दिन बस्नेतकै घरदेखि तल्लो क्षेत्रमा यातायात चलाउनै मुस्किल हुन्छ। केसीले जिम्मा लिएका अधिकांश याेजनाहरू अधुरै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.