यसअघि तालिबानलाई समर्थन गर्दै आएको कतार एक्कासी तालिबानसँग किन जंगियो ?
काठमाडौं। यसअघि तालिबानलाई समर्थन गर्दै आएको र अफगानिस्तानमा अमेरिकाको शासन हुँदा शीर्ष तालिबानी नेताहरुलाई शरण दिएको देश कतार एक्कासी तालिबानसँग आक्रोशित भएको छ । कतारका एक शीर्ष कूटनीतिज्ञले छोरीको शिक्षाको विषयमा तालिबानको व्यवहार ‘अत्यन्तै निराशाजनक’ भएको टिप्पणी गरेका छन् । उनले तालिबानको यो कदमले अफगानिस्तानलाई अझै पछाडि धकेल्ने बताएका छन् ।
कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीतिका प्रमुख जोसेफ बोरेलसँग कुराकानी गर्दै अफगानिस्तानमा छोरीहरुको शिक्षामा रोकलाई निराशाजनक बताएका हुन् । अल जजीराका अनुसार उनले हालै अफगानिस्तानमा जुन किसिमका कदमहरु उठाइएका छन् ती दुर्भाग्यपूर्ण भएको बताउँदै भने ‘यो देखेर हामीलाई धेरै निराशा भएको छ । यी केही यस्ता कदम चालिएका छन् जसबाट अफगानिस्तान विकासको बाटोमा धेरै पछाडि जान सक्छ ।’
अमेरिकी सेना बाहिरिएपछि पछिल्ला केही हप्तामा अफगानिस्तानमा धेरै उथलपुथल भएको छ र कतारले यो संवेदनशील समयमा अफगानिस्तानलाई धेरै सहयोग गरेको छ । कतारले काबुल विमानस्थलको अपरेशन सुचारु गराउन पनि धेरै सहयोग गरेको थियो । यसबाहेक हजारौं विदेशी र अफगानीलाई त्यहाँबाट बाहिर निस्किन सहयोग गरेको थियो । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि त्यहाँ आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने पहिलो देश पनि कतार नै थियो ।
शेख मोहम्मदले आफूहरुले तालिबानसँग लगातार कुराकानी गरिरहनुपर्ने र उनीहरुलाई विवादित एक्सनबाट टाढै रहन आग्रह गर्नुपर्ने आवश्यकता भएको बताए । उनले तालिबानले महिलाको मुद्दामा कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा कतारबाट सिक्नुपर्ने बताए । उनले भने ‘एक उदाहरण कतारको छ । यो एक मुस्लिम देश हो । हाम्रो राज्य प्रणाली इस्लामिक हो तर जब कुरा जनशक्ति वा शिक्षाको आउँछ कतारमा पुरुषहरुभन्दा महिलाहरु तपाइँले धेरै भेट्नुहुनेछ ।’







डिसी नेपाल







Facebook Comment