चुनावका मुखमा निधिमाथि भारतीय दलाली गरेको आरोप, के राजदूतले सच्याउलान् आफ्नो लेखाइ ?

डिसी नेपाल
२० असोज २०७८ १०:०३
3.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा चुनावी सरगर्मी तीब्र भइरहेका बेला सभापति पदको लागि उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता विमलेन्द्र निधि भने मुलुकको अस्मितासम्बन्धी विवादमा नराम्रोसँग फसेका छन्।

उनले आफू गृहमन्त्री हुँदा भारतीय दलाली गरेको कुरा भारतकै प्रतिनिधित्व गर्ने त्यो बेलाका राजदूत रनजित रे ले लिखितरुपमै सार्वजानिक गरिदिएका छन्।

आफूलाई सोध्नुपर्ने आवश्यकता नभए पनि तल्कालीन गृहमन्त्री विमलेन्द्र निधिले प्रतिष्पर्धीमध्ये कसलाई नेपाल प्रहरीको आईजीपी बनाउने भन्नेबारे भारतको राय मागेको कुरा आफ्नो पुस्तकमै उल्लेख गरिदिएका छन्।

भारतीय राजदूतकै यो लेखाइले निधिको नेपाली राजनीति र नेपाल देशप्रतिको समर्पणमा गम्भीर प्रश्न उठाइदिएको छ। उनी यदि भारतका लागि काम गर्छन् भने उनलाई मुलुकको प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसको सभापति बनाउन कसरी मिल्छ र? भन्ने प्रश्न कांग्रेसजनले उठाउन थालेका छन्।

काठमाडौं डिलेमा नामको राजदूत रेको पुस्तक सार्वजानिक भएपछि कांग्रेसभित्र पनि निधिलाई भारतीय दलालका रुपमा प्रचार गर्नेहरु बढेका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको क्याम्पमा रहँदा रहँदै पनि देउवाबाट विद्रोह गरी उनले आफूलाई देउवाको प्रतिष्पर्धीकारुपमा उभ्याउन थालेका थिए।

उनको उम्मेद्वारी घोषणा हुँदा नै भारत प्रधानमन्त्री देउवासँग खुसी छैन र देउवालाई हराउनका लागि सो क्याम्पका सबैभन्दा शक्तिशाली मानिएका निधिलाई विद्रोह गराएको हो भन्ने प्रचार कांग्रेसजनभित्र व्याप्त भइसकेको थियो।

भारतको इशारामा देउवालाई दनक दिन खोजेको कुरा आइरहेका बेला भारतीय राजदूतले नै निधि भारतसँग सोधेरमात्रै महत्वपूर्ण निर्णय गर्ने व्यक्ति हुन् भन्ने कुरा सार्वजानिक गरिदिनुले निधिको राजनीतिक साख नराम्रोसँग धुजाधुजा भएको छ।

सार्वजानिक खपतका रुपमा निधिले आफूले भारतीय राजदूतसँग त्यस्तो कुनै सल्लाह नमागेको भन्दै राजदूतको पुस्तकको खण्डन गरेको भए पनि निधिको भारतपरस्त विगतका गतिविधिका कारण कांग्रेस कार्यकर्ता र सर्वसाधारणले पत्याइदिएनन्।

बरु, कांग्रेसभित्र निधिबारे लेखिएको राजदूतको पुस्तकको सो पाना रातो रेजा लगाइलगाई वितरण गरिएको छ र देशको अस्मिता भारतीयलाई सुम्पने व्यक्तिका रुपमा निधिलाई चित्रित गर्न थालिएको छ। पुस्तकमा राजदूत रे ले तत्कालीन आईजीपी नियुक्तिको विवादमा तत्कालीन प्रधानमन्त्री र निधिको फरक उम्मेद्वार भएको कुरा पनि खुला गरिदिएका छन्।

तर, गृहमन्त्रीले नै राय मागेपछि आफूले भारतमा सम्बन्धित निकायमा बुझेको र जो सबैभन्दा सिनियर छ उसैलाई आईजीपी बनाउँदा भारतको अपत्ति नहुने कुरा गृहमन्त्री निधिलाई जानकारी गराएको पनि उल्लेख छ।

त्यसबेला आईजीपी नियुक्तिको विवादमा जयबहादुर चन्दलाई शुरुमा नियुक्ति गरिदिए पनि तत्काल सो अदालतबाट बदर भएको र सिनियर हुँदाहुँदै नवराज सिलवाल पनि आईजीपी हुन नसक्दा प्रकाश अर्यालले आईजीपी पद पाएका थिए। पुस्तकमा निधिबाट छनौटमा परेका व्यक्ति पछि गएर एमाले पार्टीमा प्रवेश गरी सांसदसमेत भएको उल्लेख गरिएको छ।

कांग्रेस सभापतिको चुनावको मुखमा नेता निधि यस्तरी डामिएका छन् कि उनले भारतीय एजेन्ट भई मुलुकको महत्वपूर्ण सुरक्षा निकायको प्रमुखको नियुक्तिसमेत उतै सोध्ने गरेको गम्भीर आरोपको सामना गर्नु परेको छ।

भारतीय राजदूतकै यो लेखाइले निधिको नेपाली राजनीति र नेपाल देशप्रतिको समर्पणमा गम्भीर प्रश्न उठाइदिएको छ। उनी यदि भारतका लागि काम गर्छन् भने उनलाई मुलुकको प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसको सभापति बनाउन कसरी मिल्छ र? भन्ने प्रश्न कांग्रेसजनले उठाउन थालेका छन्।

यसबाट मुक्तिका लागि निधिलाई सजिलो बाटो कुनै देखिँदैन। के निधिका लागि भारतीय संस्थापनपक्षले नै राजदूत रेको पुस्तक वाहियात हो हामीलाई निधिले केही सोधेको होइन भनिदेला ? वा राजदूत रे स्वयंले मैले गलत लेखिदिएको हो मेरो सो लेखाइमा सत्यता छैन भनिदेलान् ? यी दुई काम नभए निधि जन्मभूमिमाथि घात गर्ने व्यक्तिका रुपमा लामोसमयसम्म चित्रित भइरहनबाट कसैले रोक्न सक्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.