विश्वकप इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बन्यो वेष्ट इण्डिज
काठमाडौं। टि–२० क्रिकेट विश्वकपको डिफेण्डिङ च्याम्पियन वेष्ट इण्डिजले यस पटकको विश्वकपको सुरुवात भने निकै खराब तरिकाले गरेको छ । आज आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निकै लाजमर्दो रेकर्ड बनाएको छ । टि–२० विश्वकपको इतिहासमा वेष्ट इण्डिज सबैभन्दा सफल टिम पनि हो । अहिलेसम्म उसले मात्रै २ पटक टि–२० विश्वकपको उपाधि जित्न सकेको छ । उसले २०१२ र २०१६ गरी २ पटक विश्वकपको उपाधि जितेको छ ।
आजको खेलमा वेष्ट इण्डिज केवल ५५ रनको स्कोरमा अलआउट भयो । १४ ओभर २ बल खेलेर अलआउट भएको वेष्ट इण्डिजका लागि क्रिस गेलले १३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । इङल्याण्डका लागि आदिल राशिदले ४, टाइकल मिल्स र मोइन अलीले २–२ तथा क्रिस वोक्स र क्रिस जोर्डनले १–१ विकेट लिए ।
यससँगै वेष्ट इण्डिज टि–२० विश्वकपको इतिहासमा सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बनेको छ । टि–२० विश्वकपमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम नेदरल्याण्ड हो । नेदरल्याण्डलाई २०१४ मा बंगलादेशमा भएको विश्वकपमा श्रीलंकाले ३९ रनमा अलआउट गरेको थियो । त्यसपछि नेदरल्याण्डलाई अहिलेको जारी विश्वकपमा श्रीलंकाले नै ४४ रनमा अलआउट गरेको थियो । त्यसपछिको कम स्कोर आज वेष्ट इण्डिजले बनाएको ५५ रन हो ।







डिसी नेपाल








Facebook Comment