३० हजारभन्दा धेरै अमेरिकी सैनिकले आत्महत्या किन गरे ?
काठमाडौं। अमेरिकी सैनिक गहिरो तनाव र अवसादको शिकार भएका छन् । यसका कारण उनीहरुमा आत्महत्याको प्रवृत्ति बढिरहेको छ । साथमा उनीहरुले आत्महत्या गर्ने घटनाहरु पनि बढिरहेका छन् । पछिल्लो ६ महिनामा अलास्काको वायुसैनिक अड्डामा मात्र ६ जना सैनिकले आत्महत्या गरिसकेका छन् । जबकि विगत २ दशक अर्थात अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेर अफगान युद्ध सुरु गरेदेखि अहिलेसम्म ३० हजार १७७ अमेरिकी सैनिकले आत्महत्या गरिसकेका छन् ।
यो २ दशकको अवधिमा युद्धका क्रममा ७ हजार ५७ अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । यसरी हेर्दा पछिल्लो २ दशकमा युद्धमा मारिने अमेरिकी सैनिकको संख्याभन्दा आत्महत्या गरेर मर्ने अमेरिकी सैनिकको संख्या ४ गुणाभन्दा पनि बढी छ । मनोवैज्ञानिकका अनुसार लगातार लड्ने र मार्ने गरिरहँदा यी सैनिकले आफैंमाथि विश्वास गुमाउन थालेका छन् । त्यसैले उनीहरु आत्महत्यातर्फ उत्मुख भइरहेका छन् ।
बोस्टन युनिभर्सिटीका शोधार्थी थोमस बेनले पनि यसबारेमा अध्ययन गरेका छन् । यसको निष्कर्ष बताउँदै उनी भन्छन् ‘लगातार युद्धको मोर्चामा तैनाथ रहने र यस क्रममा घातक आधुनिक हतियार तथा विष्फोटकका बीच रहने गर्दा सैनिकहरुमा तनाव र अवसाद बढ्छ । उनीहरुले युद्धमा नैतिक आघातको पनि सामना गर्नुपर्छ ।’
शोधार्थी बेनका अनुसार युद्धक्षेत्रमा लगातार लड्दै, चिनेका र नचिनेका मानिसहरुलाई मार्दै गर्दा उनीहरुको दिमागमा आफू राम्रो मानिस होइन भन्ने भाव गहिरोसँग बस्छ । त्यसैले युद्धको मोर्चाबाट फर्किएपछि सामान्य जीवनमा उनीहरु सजिलै घुलमिन हुन सक्दैनन् र आत्महत्या जस्तो कदम उठाउँछन् । अध्ययनहरु र रिपोर्टहरुबाट यो निष्कर्षको पुष्टि हुन्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक रिपोर्टअनुसार २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि जब अमेरिकाले आतंकविरुद्ध वैश्विक युद्धमा सैनिकहरुलाई उतारेको थियो त्यसपछि अमेरिकी सैनिकहरुको आत्महत्याको दर बढेको छ । यस्तै एक अध्ययनका अनुसार २००५ मा सैनिकको आत्महत्या दर प्रति एक लाखमा २५.५ थियो । आज यो बढेर ४५.६ भएको छ ।
अमेरिकाको मानसिक स्वास्थ्य संस्थानका अनुसार आम नागरिकमा आत्महत्याको दर २० वर्षमा ३५ प्रतिशत बढेको छ । यो दर अहिले प्रति एक लाख १४.२ को करिब छ । जबकि पेन्टागनको रिपोर्ट मान्ने हो भने सैनिकमा पनि आत्महत्या दर लगभग यत्ति नै छ ।
सबैभन्दा चिन्ताजनक कुरा के भने आत्महत्या गर्ने सैनिकमा ६१ प्रतिशत युवा छन् । जबकि अमेरिकी सेनामा युवाहरुको कूल संख्या ४३ प्रतिशत मात्र छ । यो समस्या हटाउन अमेरिकी सरकारले सैन्य अड्डामा रहनसहनको स्थिति सुधार गर्न करोडौं डलर खर्च गरेको छ ।
जिम २४ घण्टा कुला राखिन्छन् । डिनर क्षेत्रमा निःशुल्क इन्टरनेट दिइन्छ । दैनिक खानाको बजेट १० प्रतिशत बढाइएको छ । सैनिकहरुको लागि मदिरा सेवनको समय कटौती गरिएको छ । रक्षा मन्त्री लोएड अस्टिनले स्वयं यसको निगरानी गरिरहेका छन् । उनले हालै अलास्का वायुसैनिक अड्डाको निरीक्षण पनि गरेका थिए ।







डिसी नेपाल







Facebook Comment