एमाले वडा अधिवेशन : तनहुँका ७१ वडामा सर्वसम्मत, अधिकांशमा पुरानै अनुहार

डिसी नेपाल
७ कार्तिक २०७८ १२:२८
160
Shares

तनहुँ। नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनले तनहुँको ७१ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका १० स्थानीय तहमा ८५ वडा छन् । बाँकी १४ मध्ये नौ वडामा पनि आइतबार सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जानकारी दिए। उनका अनुसार बाँकी रहेको पाँच वडाको नेतृत्व सोमबारसम्म चयन हुनेछ।

शनिबार शुक्लागण्डकी नगरपालिकाको १२ वटै वडामा अधिवेशन सकिएको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पनि सबै वडाको अधिवेशन सकिएको हो । व्यास नगरपालिकामा १२ वडामा अधिवेशनले नेतृत्व चयन गरे पनि दुईमा अझै बाँकी छ। भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका दुई दुई वडामा अधिवेशन सम्पन्न भएको छैन।

सबैभन्दा धेरै ऋषिङ गाउँपालिकाका पाँच वडामा नेतृत्वको टुंगो लाग्न सकेको छैन। भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाको एकएक वडामा अधिवेशन हुन बाँकी छ । सबै वडामा सर्वसम्मत गराउन जिल्ला, प्रदेश र केन्द्रीय कमिटिमा रहेकालाई प्रतिनिधि रुपमा खटाएको एमाले तनहुँले जनाएको छ।

देवघाटका दुई र ऋषिङ, म्याग्दे र व्यासका एकएक वडाबाहेक अरु बाँकी वडामा आईतबार सर्वसम्मत नेतृत्व चयन हुने जिल्ला अध्यक्ष सिग्देलले बताए । व्यास–८ र म्याग्दे–४ मा अधिवेशन गर्नलाई मापदण्ड नपुग्ने भएकाले भेलामार्फत गठन गरिनेछ ।

नेतृत्वमा पुरानै अनुहार

अधिवेशन सकिएका अधिकांश वडाको अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । माओवादीसँग एकता भएर बनेको नेकपाको वडा कमिटिमा एमालेको तर्फबाट वडा कमिटि अध्यक्ष बनेका र एकता प्रकृया भंग भएपछि एमालेले गठन गरेको तदर्थ वडा कमिटिमा अध्यक्ष बनेका पुरानै अनुहार वडा अधिवेशनमार्फत दोहोरिएका हुन् ।

वडामा पुरानै अध्यक्ष दोहोरिनु स्वभाविक भएको जिल्ला अध्यक्ष सिग्देल बताउँछन् । ‘हिजो माथिल्लो कमिटिले वडाका पदाधिकारी चयन गर्दै आएको थियो । एकता प्रकृया भंग भएपछि तदर्थ समिति बनेका थिए ।

अहिले आएर अधिवेशनमार्फत कमिटिले पुर्णता पाएको हो । अधिवेशनबाट निर्वाचित भएर आउने रहर भएकाले दोहोरिएका हुन् । पुरानो अनुहार भन्न मिल्दैनन्, फ्रेस नै हो’, उनले भने ।

९ कात्तिकमा हुने पालिका अधिवेशनको तयारी पनि तनहुँमा तिव्र पारिएको छ । १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा एमाले छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.