अमेरिका र पाकिस्तानबीच सम्झौता हुने खबरले तरंग

डिसी नेपाल
७ कार्तिक २०७८ १२:४७
12.5k
Shares

काठमाडौं। अमेरिकी समाचार च्यानल सिएनएनको एक रिपोर्टअनुसार अमेरिका अफगानिस्तानमा सैन्य र खुफिया अभियानको लागि पाकिस्तानको हवाइ षेत्र प्रयोग गर्नको लागि एक औपचारिक सम्झौता गर्दैछ । शनिबार सार्वजनिक भएको यो रिपोर्टले यस क्षेत्रमा नयाँ तरंग ल्याएको छ । रिपोर्टअनुसार पाकिस्तानले कथित रुपमा आफ्नो आतंकवादरोधी प्रयास र आरतसँगको सम्बन्धमा सहयोगको बदलामा अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरको इच्छा देखाएको छ ।

रिपोर्टका अनुसार अमेरिकाको कंग्रेसलाई शनिबार यस सम्बन्धमा जानकारी दिइएको छ । यद्यपि पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान र अमेरिकाको बीच यस्तो कुनै पनि सम्झौता हुन लागेको कुरा अस्वीकार गरेको बीबीसीले जनाएको छ । विदेश मन्त्रालयले दुईै देशबीच यस्तो कुनै सम्झौता नभएको भनेको छ । यद्यपि मन्त्रालयले क्षेत्रीय सुरक्षा र आतंकवादविरुद्धको युद्धका लागि दुई देशबीच दीर्घकालीन सहयोग कायम रहेको भनेको छ ।

यो रिपोर्ट यस्तो समयमा आएको छ जतिबेला अफगानिस्तानबाट आफ्ना सैनिक फर्किएपछि अमेरिकालाई आइएसआइएस र अन्य चरमपन्थी समूहहरुविरुद्ध अफगानिस्तानमा आतंकरोधी अभियान चलाउन कठिनाइ भइरहेको छ । तालिबानले गत महिना अमेरिकालाई चेतावनी दिँदै यदि उसले अफगानिस्तानमाथि ड्रोन उडाउन बन्द नगरे यसको नकारात्मक परिणाम हुने भनेको थियो ।

अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चरमपन्थी समूह आइएसआइएसको आक्रमण बढेका छन् । अन्तरिक तालिबान सरकारले आइएसआइएससँग लड्नको लागि अमेरिकी सहयोग लिन अस्वीकार गरेको छ र आफू यससँग लड्न सक्षम भएको बताएको छ । तर अमेरिकालाई तालिबान शासनमा चरमपन्थी संगठन बलियो हुन सक्ने र अन्तर्राष्ट्रिय आक्रमणको लागि अफगानिस्तानको प्रयोग गर्न सक्ने आशंका छ ।

हवाइ क्षेत्रमा सहयोगको लागि पाकिस्तान र अमेरिकाबीच पहिले नै सहयोगका विषयमा एक रुपरेखा तयार छ । यसअघि जून महिनामा पाकिस्तानको विदेश मन्त्रालयका एक प्रवक्ताले २००१ देखि पाकिस्तान र अमेरिकाबीच एलायन्स अफ कम्युनिकेसन र ग्राउण्ड लाइन्स अफ कम्युनिकेसनमा एक रुपरेखा रहेको बताएका थिए । यस्तोमा कुनै नयाँ सम्झौतामा हस्ताक्षर गर्न नसकिने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *