३३ % नारामा सिमितः बागलुङका वडा अधिवेशनमा महिला शून्य

डिसी नेपाल
७ कार्तिक २०७८ १७:१३
28
Shares

काठमाडौं।नेकपा एमालेको वडा अधिवेशन बागलुङका ७१ वडामा नेतृत्व चयन भए पनि महिलाको सहभागिता शून्य रहेको छ । कमिटिमा ३३ प्रतिशत भन्दाबढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् ।

अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसक्नु समावेशी सिद्धान्त विपरीत भएको कतिपयको ठहर छ । एमालेका महिला नेता, कार्यकर्ता पनि त्यसप्रति असन्तुष्ट छन् । एमाले निकट अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सावित्रा रानाले आफूहरु निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको स्वीकार गरे । “झट्ट हेर्दा महिलाहरु नेतृत्वमा नआएजस्तो देखिएपनि वडा किमिटिमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता भएको छ”, उनले भने, “आफ्नो योग्यता, क्षमता बढाउँदै नेतृत्व विकास गरेर अघि आउने वातावरण महिलालाई बनेको छ ।”

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका रानाले पहिलेदेखि नै जकडिएको संरचनाका कारण राजनीतिको अग्रभागमा पुरुष देखिने गरेको बताए। समावेशिताको आवाज उठ्न थालेपछि पहिलेको तुलनामा राजनीतिमा महिलाको सहभागिता बढेको उनको भनाइ छ । “हामीले अपेक्षा गरेझैँ त भएको छैन, तर केही उपलब्धि चाहिँ पक्कै भएका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ”, उनले भने, “नेतृत्वदायी भूमिकामा आउन नसक्नुलाई महिलाको असक्षमतासँग जोडेर हेर्न मिल्दैन ।”

पार्टीमा लामो समय योगदान गरेका पुरष नेतामाथि अन्याय हुने ठानेर पनि कतिपय महिला नेतृत्वमा आउन हिच्किचाउने गरेका छन् । समावेशिताका नाममा महिलालाई नेतृत्वमा ल्याउँदा पुरुषलाई अन्याय हुन्छ की ? भन्ने दयापूर्ण मनोदशा पनि बेलाबेला राजनीतिमा देखा पर्छ । प्रदेशसभा सदस्य रानाले अहिलको वडा अधिवेशनमा महिलाहरु पनि नेतृत्वका हकदार हुन् र उनीहरु सक्षम छन् भन्ने परिदृश्य देखिएको बताए  । एमाले जिल्ला सचिव विष्णु भुसालले अध्यक्षमै नआएपनि पदाधिकारीसहित किमिटिमा महिलाहरुको राम्रो उपस्थिति रहेको बताए । “वडा कमिटिमा ३३ प्रतिशतभन्दा बढी नै महिलाहरु चुनिनुभएको छ, यसलाई राम्रो उपलब्धि मान्नुपर्छ”, उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.