नेपालको सीमाछेउ मानिसमा जीका भाइरस भेटियो, उत्तर प्रदेशको स्वास्थ्य विभाग हाइअलर्टमा
काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशको कानपुर शहरमा मानिसमा जीका भाइरसको संक्रमण भेटिएको छ । यो उत्तर प्रदेशमै जीका भाइरस संक्रमणको पहिलो केस हो । बीबीसी हिन्दीका अनुसार भारतीय वायु सेनाका एक स्टाफमा संक्रमण पुष्टि भएको हो र उनको एयरफोर्स हस्पिटलमा उपचार भइरहेको छ ।
विगत १० दिनदेखि उनको यही अस्पतालमा उपचार भइरहेको थियो र जीका जस्तो लक्षण देखिएपछि अस्पताल प्रशासनले उनको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाएको थियो । जाँचमा उनी जीका भाइरस पोजेटिभ भएको पुष्टि भयो । पुष्टि भएपछि केजीएमयु लखनउबाट डा. मानवेन्द्र त्रिपाठी र दिल्लीको एम्सबाट डा. केजी चौधरीले टिमको साथमा उनको उपचार सुरु गरेका छन् ।
कानपुरका डिएम विशाख जी अय्यरले बताएअनुसार बिरामीको अवस्था स्थिर छ । कानपुरका चिफ मेडिकल अफिसर डा. नैपाल सिंहका अनुसार जीका भाइरस पुष्टि भएपछि परदेवनपुरवामा उनको घरको एक किलोमिटर दायरालाई कन्टेनमेन्ट जोन घोषित गरिएको छ । अलर्ट मोडमा काम गर्दै आइतबार पहिलो दिन स्वास्थ्य विभागका २४ टिमले ३ सय घरमा १३ सय जनाको जाँच गरेका छन् । यीमध्ये ११२ जना ज्वरो र जीउ दुख्ने समस्या भएका मानिस भेटिएका छन् ।
यीमध्ये ५ जनाको रगतको नमूनालाई जाँचको लागि लखनउ पठाइएको छ । शनिबार पनि एयरफोर्सकर्मीको सम्पर्कमा आएका २४ जनाको नमूना केजीएमयु पठाइएको थियो । सबै जाँचको रिपोर्ट आइतबार अबेर राती आएको छ र सबैको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । कसैमा पनि जीका भाइरस पुष्टि भएको छैन । कानपुर नगर निगमले पूरै षेत्रमा आइतबार सरसफाइ, एन्टि लार्भा स्प्रे छर्ने र फगिङका काम सुरु गरेको छ ।
टोलहरुमा जीका भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पोस्टरहरु पनि स्वास्थ्य विभागले टाँस्न सुरु गरेको छ । मानिसहरुलाई लामखुट्टेबाट बच्ने उपाय पनि बताइँदैछ । जीका भाइरस एयरफोर्सकर्मीमा कसरी आयो भन्ने विषयमा ठूलो प्रश्न उठेको छ तर यसको जवाफ पाइएको छैन । सीएमओका अनुसार जीका भाइरस एडिज प्रजातिको लामखुट्टेले टोक्दा पनि सर्न सक्छ । यद्यपि यो संक्रमण हावाबाट फैलिँदैन ।
के हो जीका भाइरस ?
जीका भाइरसको संक्रमण एडिज इजिप्टी लामखुट्टेले टोक्दा पनि सर्न सक्छ । यो लामखुट्टेले डेंगु र चिकनगुनिया जस्ता रोग पनि सार्छ । संक्रमित व्यक्तिसँग शारीरिक सम्बन्ध राख्दा पनि यो स्वस्थ व्यक्तिमा सर्न सक्छ । जीका भाइरसबाट संक्रमित हुने सबैभन्दा धेरै खतरा गर्भवती महिलाहरुलाई हुन्छ ।
पहिलो पटक जीका भाइरससँग सम्बन्धित महामारी प्रशान्त महासागरको याप टापुमा २००७ मा आएको थियो । त्यसपछि ब्राजिल, अमेरिका र एसियामा यो महामारीजस्तै फैलियो । यसको पहिलो केस १९४७ मा युगाण्डामा भेटिएको थियो । यसको पाँच वर्षपछि यो भाइरस मानिसमा पाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो एक न्युरोलोजिकल डिसअर्डर हो जो मानिसहरुमा पक्षघात र मृत्युको कारण बन्न सक्छ ।







डिसी नेपाल







Facebook Comment