कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने

डिसी नेपाल
१० कार्तिक २०७८ २०:५९
104
Shares

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको बताए ।

राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिए । उनले जातीय विभेदविरुद्ध कडाइका साथ कानून कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गरे ।

समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शङ्कर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताए । नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले कांग्रेसले खेलकूद मन्त्रालय पायो भने सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने दाबी पनि गरे ।

समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुशी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताए । उनले फुटबलको पूर्वाधार विकासमा नेपाल कमजोर रहेकाले अन्तर्राष्ट्रियस्तरका खेल मैदान र खेल क्षेत्रमा बजेटको उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको औँल्याए । उक्त समारोहम नेपालमा उपलब्ध खेलाडी र खेल व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको थियो । समारोहमा नेपाली कांग्रेस काठमाडौँका सभापति नीलकाजी शाक्य, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन, अर्को नेता खिमानसिंह रायमाझीलगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.