एमालेको अवरोध सहेर ४८ दिनमै संसद अधिवेशन अन्त्य
काठमाडौं। संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी हुन्।
गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभेर नाराबाजी गरिरहे । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए।
सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तरत एमाले सांसदको अवरोध खेप्यो । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे ।
अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ ।








डिसी नेपाल








Facebook Comment