विकासको कामबाट थाक्दिन,चितवनबाट भाग्दिनः प्रचण्ड

डिसी नेपाल
१२ कार्तिक २०७८ १५:०५
128
Shares

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार आयोजना गरेको चियापान एवं दशैं,तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका छन्।

उनले भने,‘तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ।’ माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे। उनले भने,‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस्।’

माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनको दाबी रहेको छ। आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउउँदै आफू चितवन निर्वाचन क्षेत्रबाट कतै नभाग्ने पनि बताएका छन्।उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भने,‘प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्।’

एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उनको भनाई थियो । उनले भने,‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि।’माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गरेका िथए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.