एमाले केन्द्रीय समितिले थप्यो साढे चार सय महाधिवेशन प्रतिनिधि
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो ।
थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ ।
‘स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४ सय बढी सदस्य थप्ने निर्णय भएको छ ।’
यस्तै बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
‘स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेर २३ सदस्यीय बनाएको छ,’ ज्ञवालीले भने ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक छन् । समितिले नारायणी नदी किनारमा महाधिवेशन खुला सत्र गर्ने र सौराहमा बन्द सत्र गर्ने तय गरेको छ ।







डिसी नेपाल








Facebook Comment