अकुस सम्झौताका कारण आक्रोशित फ्रान्सका राष्ट्रपतिसँग बाइडेनले गल्ती स्वीकारे

डिसी नेपाल
१३ कार्तिक २०७८ १०:५६
156
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रोममा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग एक भेटमा अकुस सम्झौताको क्रममा अमेरिकाले बेवकुफी गरेको बताएका छन् । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अकुस सम्झौतापछि यी दुई देशका राष्ट्रपति प्रत्यक्ष भेटेको यो पहिलो पटक थियो ।

यो सम्झौताका कारण फ्रान्सले अस्ट्रेलियासँग भएको ३७ बिलियन डलरको सम्झैता गुमाउनु परेको थियो । सम्झौताको खबर सार्वजनिक भएपछि फ्रान्स र अमेरिकाबीचको सम्बन्धमा तीतोपना देखिएको थियो । अहिलेको बैठक रोममा हुने जी–२० र ग्लासगोमा सीओपी २६ शिखर सम्मेलनभन्दा अगाडि अमेरिकी राष्ट्रपतिको विश्वका नेताहरुसँग हुने बैठकमध्ये एक थियो ।

यस क्रममा बाइडेनले भने ‘हामीले जे गर्यौं यो बेवकुफीपूर्ण थियो । म यो मानेर अगाडि बढिरहेको थिएँ कि फ्रान्सलाई यसबारेमा पहिल्यै जानकारी दिइएको थियो ।’ अकुस सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्ससहित कैयौं अन्य प्रविधिहरु पनि समावेश छन् । यो पछिल्ला कैयौं दशकमा अस्ट्रेलियाका सबैभन्दा ठूला रक्षा सम्झौतामध्ये एक हो । यसका साथै यसलाई चीनसँग मुकाबिला गर्ने प्रयासको रुपमा हेरिएको छ ।

यो सम्झौताले २०१६ मा फ्रान्स र अस्ट्रेलियाबीच भएको सम्झौतालाई अन्त्य गरिदिएको थियो जुन सम्झौता अन्तर्गत फ्रान्स १२ पारम्परिक पनडुब्बी बनाउँदै थियो । सम्झौताको खबर आएपछि फ्रान्सका विदेशमन्त्रीले यसलाई पिठ्युँमा छुरा रोपेजस्तै भएको बताएका थिए । फ्रान्सले तत्कालीन रुपमा अस्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *