चीनले श्रीलंकाको बैंकलाई कालोसूचीमा राख्यो

डिसी नेपाल
१३ कार्तिक २०७८ १५:१०
1.3k
Shares

काठमाडौं। चीनले श्रीलंकामा जैविक मलको एक अर्डर रद्द भएपछि श्रीलंकाको एक बैंकलाई कालोसूचीमा राखेको छ । अंग्रेजी अखबार द हिन्दूका अनुसार चीनले जैविक मलको एक अर्डरको सम्बन्धमा ‘दुर्भावनापूर्ण’ लेटर अफ क्रेडिट ‘डिफल्ट’को हवाला दिँदै श्रीलंकाको एक शीर्ष सरकारी बैंकलाई कालोसूचीमा राखेको हो ।

श्रीलंकाले हालै चीनको एक कम्पनीलाई जैविक मलको अर्डर दिएको थियो । तर, मल दूषित पाइएपछि श्रीलंकाली अधिकारीहरुले चीनबाट आएको खेप फिर्ता पठाएका थिए । त्यसपछि लेटर अफ क्रेडिट दिएको श्रीलंकाली बैंकले चिनियाँ कम्पनीलाई पैसा भुक्तानी दिन अस्वीकार गरेको थियो ।

चीनको वाणिज्य मन्त्रालयले भनेको छ कि यो डिफल्टका कारण श्रीलंकासँग अन्तर्राष्ट्रिय व्यापारमा चीनका उद्योगहरुलाई ठूलो नोक्सानी भएको छ । चीनको यो फैसलालाई लिएर श्रीलंकास्थित चिनियाँ दूतावासको एक ट्वीटको जवाफमा श्रीलंका पिपुल्स बैंकले भनेको छ कि उसले केवल अदालतको आदेशको पालन गरिरहेको थियो । यो आदेशमा बैंकलाई चिनियाँ कम्पनीलाई भुक्तानी गर्नबाट रोकिएको थियो ।

बैंकले शुक्रबार एक बयान जारी गर्दै भनेको छ ‘कानुनी रोक हटेपछि सामान्य व्यापारिक तरिकाले लेटर अफ क्रेडिट भुक्तानी तुरुन्त प्रभावी हुनेछ ।’ गत हप्ता श्रीलंकाले जैविक मल ल्याउने एक चिनियाँ जहाजमाथि रोक लगाएको थियो । यसमा केही हानीकारक ब्याक्टेरिया पाइएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार एक वाणिज्यिक उच्च न्यायालयले चिंगदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६ हजार टन मलको लागि कुनै पनि भुक्तानीमाथि प्रतिबन्ध लगाएको थियो । दुई देशबीच चलिरहेको यो विवादका बीच श्रीलंकामा कृषि संकट उत्पन्न हुन सक्छ । गत वर्ष मार्चमा मात्रै श्रीलंकाले अचानक रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *