अफगानिस्तानको इस्लामिक स्टेटले भन्यो ‘पाकिस्तानलाई बर्बाद पार्नु हाम्रो पहिलो लक्ष्य’

डिसी नेपाल
१४ कार्तिक २०७८ ११:३६
7.3k
Shares

काठमाडौं। आतंकवादी समूह इस्लामिक स्टेटको अफगानी शाखा आइएसआइएस खुरासानले पाकिस्तानलाई धम्की दिँदै उसलाई बर्बाद पार्नु आफ्नो पहिलो लक्ष्य भएको बताएको छ । उसले अफगानिस्तानको आजको खराब स्थितिको लागि पाकिस्तान जिम्मेवार भएको बताउँदै पाकिस्तानकै कारण आज अफगानिस्तानमा इस्लामिक कानुन लागू नभएको आरोप लगाएको छ ।

आइएसआइएसले जो इस्लाम वा कुरानको विरुद्ध जान खोज्छन् ती सबै देशलाई समेत चेतावनी दिएको छ । उसले सिधा शब्दमा धनेको छ ‘हाम्रो पहिलो लक्ष्य शरिया कानुन लागू गर्नु हो । संसारमा जो पनि इस्लाम वा कुरानको विरुद्ध जानेछ त्यो हाम्रो निशानामा हुनेछ ।’ आइएसआइएस खुरासानका प्रमुख नजीफुल्लाले पाकिस्तानलाई सिधै चेतावनी दिएका छन् ।

नजीफुल्लाले भनेका छन् ‘हामी शरिया कानुन लागू गर्न चाहन्छौं । जसरी हाम्रा पैगम्बर बाँचिरहनुभएको थियो त्यसैगरी आम मानिसहरुले पनि शरिया कानुन मान्नुपर्नेछ । उहाँ हिजाब लागू गर्न चाहनुहुन्थ्यो । हामीसँग लड्नको लागि धेरै कुरा छैन तर मेरो हातमा केही पनि आउँछ भने म पाकिस्तानसँग लड्न जानेछु ।’

के न्यूजले आइएसका एक प्रमुख आतंकवादी नजीफुल्लाको हवाला दिँदै संगठनको पहिलो लक्ष्य पाकिस्तानलाई नष्ट गर्नु बताएको छ । आइएसले आज अफगानिस्तानमा जे भइरहेको छ त्यसको लागि पाकिस्तान जिम्मेवार भएको बताएको छ । नजीफुल्लाले भनेका छन् ‘तालिबानी शासक आफूहरुले देशको ८० प्रतिशत क्षेत्रलाई नियन्त्रित गरेको बताएका थिए तर अढाइ महिना बितिसक्दा पनि उनीहरु इस्लामिक शासन लागू गर्न सफल भएनन् । त्यसैले हामीले आइएसआइएस–केको सुरुवात गरेका हौं ।’

आइएसआइएसले हालै दुई शिया मस्जिदमा आत्मघाती आक्रमण गरेको थियो । दुई आक्रमणमा २ सयभन्दा धेरै मारिएका थिए । तालिबानले यो आक्रमणविरुद्ध कारवाही गर्ने भनेको थियो । यसबाट आइएसआइएस तालिबानको विरुद्ध गएको थियो । तालिबान विश्वलाई आफू पहिलेजस्तो कट्टर नभएको विश्वास दिलाउन चाहन्छ । आइएसआइएसलाई यो चित्त बुझिरहेको छैन । आइएसआइएस जसरी पनि शरिया कानुन लागू गराउन चाहन्छ तर तालिबानी शासक यसबाट बच्न चाहन्छन् ।

नजीफुल्लाहले तालिबानमाथि ठूलो आरोप लगाएका छन् । उनका अनुसार तालिबानका केही नेताहरुले कट्टर नेताहरुलाई पर्दापछाडि राखिरहेका छन् । शरियाका पक्षधर र तालिबानका संस्थापक मुल्ला उमरको २०१३ मा मृत्यु भएको थियो । यो कुरालाई २ वर्षसम्म लुकाइएको थियो । नजीफुल्लाका अनुसार तालिबानका अहिलेका सर्वोच्च नेता हिबतुल्लाह अखुंदजादालाई पनि पर्दामा राखिएको छ । यसो गरेर तालिबानी नेता शक्तिशाली देशहरुको दबाबमा शरिया कानुन लागू गर्नबाट बचिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *