भेट हुनासाथ अस्ट्रेलियाका प्रधानमन्त्रीसँग जंगिए फ्रान्सका राष्ट्रपति, अकुसका कारण रिसाएका थिए
काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले पनडुब्बी सम्झौताको विषयमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूसँग झुटो बोलेको आरोप लगाएका छन् । खासमा एक पत्रकारले म्याक्रोनसँग ‘के उनलाई स्कट मोरिसन झुटो बोलिरहेका छन् भन्ने लाग्छ ?’ भनेर सोधेका थिए । जवाफमा म्याक्रोनले भने ‘मलाई केवल लागेको होइन, मलाई यो थाहा छ ।’
हालै अरबौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अस्ट्रेलिया र फ्रान्सको सम्बन्धमा तनाव आएको छ । अस्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी किन्ने एक सम्झौता रद्द गरेर अमेरिका र बेलायतसँग नयाँ रक्षा सम्झौता गरेको थियो । यो फैसलामा फ्रान्सले आक्रोश व्यक्त गर्दै यसलाई ‘पिठ्युँमा छुरा रोपेजस्तो’ भनेको थियो । फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत पनि फिर्ता बोलाएको थियो ।
यो घटनापछि जी–२० सम्मेलनमा पहिलो पटक इम्मानुएल म्याक्रोन र स्कट मोरिसनको भेट भएको हो । जी–२० सम्मेलनको क्रममा राष्ट्रपति म्याक्रोनसँग एक अस्ट्रेलियन पत्रकारले ‘के उनी प्रधानमन्त्री मोरिसनमाथि फेरि विश्वास गर्न सक्छन् ?’ भनेर सोधेका थिए । यसको जवाफमा म्याक्रोनले भने ‘हामी हेर्छौं कि उनी के लिएर आउँछन् । म तपाइँको देशको धेरै सम्मान गर्छु । तपाइँका जनताप्रति पनि मेरो मनमा सम्मान र मित्रताको भावना छ । तर जब हामीले सम्मान गछौं तपाइँहरु पनि साँचो हुनुपर्छ र तपाइँले यो मूल्यअनुसार लगातार व्यवहार गर्नुपर्छ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति म्याक्रोनको यो बयानपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूले फ्रान्सका राष्ट्रपतिसँग झुटो नबोलेको दावी गरेका छन् । उनले आफूले फ्रान्सलाई पारम्परिक पनडुब्बीबाट अस्ट्रेलियाका रक्षा आवश्यकता पूरा नहुने कुरा पहिले नै बताएको दावी गरेका छन् । उनले दुई देशबीच फेरि विश्वास र सम्बनध बनाउने कोसिस सुरु भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment