वर्तमान नेतृत्वलाई जसरी पनि हटाउनुपर्छः प्रकाशमान सिंह

डिसी नेपाल
१५ कार्तिक २०७८ २०:१९
36
Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा काँग्रेस कमजोर भएको बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ । लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधि भइरहेको छ । कांग्रेस कमजोर हुँदा कम्युनिस्टले मौका पाए । तर पाएको मौकामा देश विगार्न तिर लागे । संविधानमाथि निरन्तर प्रहार गरे ।’

संविधान र लोकतन्त्र जोगाउन कांग्रेस नेतृत्वको सरकार बनेको उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकारले जनताको भावना र इच्छाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

१३औं महाधिवेशन भएको दुई महिनाभित्रमा गठन हुनुपर्ने विभागहरु गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको तर्क गर्दै सुरुदेखि नै नेतृत्व विधि विधानविपरीत काम गर्न लागि परेको उनले आरोप लगाए । विधानअनुसार काम गर्न नसक्दा अझै पनि पार्टी महाधिवेशन हुनेमा कार्यकर्ताले आंशका व्यक्त गरिरहेको उनले सुनाए । यही अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने र कांग्रेस प्रजा परिषद्को बाटोमा जाने उनले चेतावनी दिए । पार्टीमा क्रियाशील विवाद समाधान गर्न गठन भएका विभागहरुलेसमेत उल्लेखनीय काम नगरेको उनको आरोप छ ।

संस्थापक नेताहरुले निर्माण गरेको कांग्रेसको छविलाई रक्षा गर्न सकौला कि नसकौला भन्ने प्रश्न आइसकेकोसमेत उनले बताए । पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरि शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.