बेलायतमा देउवाको प्रस्तावलाई मोदीको समर्थन

डिसी नेपाल
१६ कार्तिक २०७८ ८:४१
1.8k
Shares

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणका क्रममा राखेको प्रस्तावलाई समर्थन गरेका छन्।

प्रधानमन्त्री बनेपछि पहिलोपल्ट भारत भ्रमणमा जाने परम्परालाई तोड्दै संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा बेलायत पुगेका प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग कार्यक्रमकै सन्दर्भमा ग्लास्गोमा भेट भएको थियो।

अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका मुख्य नेताहरु संलग्न सो कार्यक्रममा नेपालका प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा सबैभन्दा बढी परेको र त्यसको मारमा नेपाल परेको उल्लेख गर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनले दिएको चुनौतीको असर कम गर्न सबैको प्रतिबद्धताको आवश्यकता रहेको र वातावरणीय विनासबाट बच्न दिगो विकासका लागि काम गर्नुपर्ने प्रस्ताव राखेका थिए।

उनको यही प्रस्तावलाई भारतीय प्रधानमन्त्री मोदीले समर्थन गरेका हुन्। मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो समर्थन सार्वजानिक पनि गरेका छन्। उनले ग्लास्गोमा प्रधानमन्त्री देउवासंग भेट भएको कुरा उल्लेख गर्दै मोदीले दिगो विकासका लागि सहकार्य गर्नु महत्वपूर्ण कुरा भएको र देउवाले वातावरणीय विनासले हिमालय क्षेत्रलाई दिएको चुनौतीका बारेमा जोड दिएको कुरा उचित रहेको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले देउवाको प्रस्तावलाई सार्वजानिकरुपमै समर्थन गरेपछि नेपालका प्रधानमन्त्री देउवाले पनि मोदीलाई सार्वजानिकरुपबाटै धन्यवाद दिएका छन्। उनले पनि एक ट्वीट गर्दै भनेका छन्, ‘विशेषगरी हाम्रा साझा हिमाली क्षेत्रहरु जुन निकै संबेदनशील पनि छन्— को भविष्यका लागि दिगो विकास हुनु ज्यादै महत्वपूर्ण छ । यो कुरालाई जोड दिएको र एकसाथ काम गर्ने कुरालाई महत्व दिएकोमा म प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहान्छु ।’

प्रधानमन्त्री देउवाले सम्मेलनमा वातावरणीय विनासले हिमाली क्षेत्रमा ठूलो असर पार्न थालेको र यसको मारमा नेपालजस्ता मुलुकहरु परेकोले ती देशहरुमा विश्वका धनी मुलुकहरुले विनाशर्त वातावरणीय विनासको असरका विरुद्ध लगानी र सहायता बढाउनुपर्ने कुरामा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.